बैतडीमा स्क्रब टाइफसका विरामी बढ्दै

File Photo
File Photo

पछिल्लो समय बैतडीमा स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन्। जिल्ला अस्पतालमा उपचार लागि आएकामध्ये  दैनिक २/३ जना विरामीमा स्क्रब टाइफसको संक्रमण देखिने गरेको छ। चालु आर्थिक वर्षको तीन महिनामा ४५ जनामा स्क्रब टाइफस पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए।

जिल्ला अस्पतालमा मात्रै नभई अन्य स्वास्थ्य संस्थाहरुमा समेत स्क्रब टाइफसका विरामी भेटिएको बताइएको छ। जिल्लामा विरामी बढे पनि यकिन तथ्यांक आउन बाँकी रहेको सूचना अधिकारी पन्तले बताए। माइट नामक किर्नाको टोकाईबाट स्क्रब टाइफसको संक्रमण हुने भएकाले सरसफाईमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीले जोड दिएका छन्।

झाडी, झ्याङ भएका ठाउँमा माइट बस्ने भएकाले सकभर त्यस्तो ठाउँमा नबस्न स्वास्थ्यकर्मीको आग्रह छ। स्क्रब टाइफस भएमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, शरीरमा राता डाबरहरु आउनेलगायतका लक्षण देखा पर्छन्। यस्ता लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क राख्न स्वास्थ्यकर्मीको सुझाव छ।

स्क्रब टाइफसमा पनि टाइफाइड ज्वरोजस्तै लक्षण देखिने भएकाले समयमा नै अस्पतालमा गई चेकजाँच गर्न स्वास्थ्य कार्यालयका प्रमुख योगेश प्रसाद भट्टले  आग्रह गरे। स्वास्थ्य संस्थामा चेकजाँच गरेपछि स्क्रब टाइफस भए/नभएको बारेमा जानकारी हुने स्वास्थ्यकर्मीले बताएका छन्। 

प्रकाशित मिति: : 2021-10-02 17:16:00

प्रतिकृया दिनुहोस्