विप्लवकाे सैन्य ब्यूराे ईञ्चार्ज र महाेत्तरी इञ्चार्ज एमालेमा प्रवेश, भन्छन्- 'ओलीकाे डक्ट्रीनले प्रभावित बन्याैँ'

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीकाे सैन्य ब्यूराे प्रमुख अमर क्षेत्री धमला र महाेत्तरी जिल्ला ईञ्चार्ज रूप बहादुर कार्की 'रूपेश' एमालेमा प्रवेश गरेका छन्। 

उनीहरू प्रतिनिधि बनेर एमालेकाे प्रथम विधान महाधिवेशनमा सहभागी भएका हुन्। उनीहरूलाई एमाले स्थायी कमिटी सदस्य तथा बाग्मती जिल्ला इञ्चार्ज राम बाहादुर थापा 'बादल' र केन्द्रीय सदस्य तथा महाेत्तरी जिल्ला अध्यक्ष टेक बाहादुर बलम्पाकीले एमालेमा भित्र्याएका हुन्।

उनीहरू दुवै जना एमाले २ नम्बर प्रदेश कमिटी सदस्यसमेत मनाेनित भएका छन्।

बिएल नेपाली सेवासँग कुराकानी गर्दै अमरले भने, 'हामी एमाले अध्यक्ष केपी ओलीकाे देश प्रेमबाट प्रभावित भएर एमालेमा प्रवेश गरेका हाैँ।'

अमर विप्लव नेतृत्व नेकपाकाे धनुषा, सिरहा र सप्तरीकाे इञ्चार्ज थिए।

विप्लवकाे महाेत्तरी जिल्ला ईञ्चार्ज रूपेशकाे प्रतिक्रिया पनि अमरकाे जस्तै छ। उनले पनि बिएल नेपाली सेवासँग कुराकानी गर्दै भने, 'देश विकास र कम्युनिष्ट आन्दाेलन अघि बढाउन ओली डक्ट्रीनले प्रभावित भएर एमाले बनेकाे हुँ। प्रदेश दुईका सबै साथीहरु पनि एमाले छिर्दैछन्।'

बादलकाे उपस्थितीमा दुबैले एमाले अध्यक्ष ओलीकाे हातबाट अबिर माला लगाएर एमाले प्रवेशकाे घाेषणा गरेका हुन्। 
 

प्रकाशित मिति: : 2021-10-02 19:34:00

प्रतिकृया दिनुहोस्