एमालेमा बहस : पार्टीको 'ब्रान्डिङ'मा लाग्ने कि ओलीलाई हिरो बनाउनतिर?

पहिलोपोष्ट

काठमाडाै‌

नेकपा (एमाले)को विधान महाधिवेशनका प्रतिनिधिहरुले अध्यक्ष केपी शर्मा ओलीको देवत्वकरण गरिएको भन्दै प्रश्न उठाएका छन्। पार्टीको 'ब्राण्डिङ' गर्नुको सट्टा व्यक्तिलाई नायक बनाउन खोजिएको भन्दै प्रतिनिधिहरुले प्रश्न उठाएको हुन्। अध्यक्ष ओलीको विधान महाधिवेशनमा व्यापक प्रचार गरिएको थियो भने उनलाई नै केन्द्रमा राखेर मञ्च ब्यवस्थापन गरिएको थियो। उक्त प्रचारशैली प्रति केही महाधिवेशन प्रतिनिधिहरुले असन्तुष्टि पोखेको वाग्मती प्रदेशको समूहगत छलफलको समूह नेता आनन्द पोखरेलले बताए।

उनले दुबै खालको विचार आएको उल्लेख गर्दै व्यक्तिलाई नायक बनाउने कि पार्टीको ब्राण्डिङ गर्ने भन्ने विषयमा छलफल भएको जनाए। व्यक्तिलाई मात्रै नायक बनाउँदा पार्टी सशक्त नहुने र अझ विभाजनको खतरामा जाने भन्दै नेताहरुले पार्टीलाई ब्राण्डिङ गर्नुपर्नेमा जोड दिएका हुन्। एमालेमा फरक विचार राख्ने र १० बुँदे सहमति गरेर पार्टीमा फर्किएका नेताहरुले पनि ओलीको प्रचारशैलीप्रति आपत्ति जनाइरहेका छन्। उपमहासिचव घनश्याम भुसालले पार्टीलाई सामूहिकताका आधारमा चलाउन र व्यक्तिभन्दा नीति केन्द्रित बनाउनुपर्ने धारणा सार्वजनिक गरेका थिए।

प्रकाशित मिति: : 2021-10-03 10:38:00

प्रतिकृया दिनुहोस्