प्रदेश दुईका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अख्तियार अनुसन्धान दुरुपयोग आयोगले गरेको छापाको विरुद्धमा जनता समाजवादी पार्टीले वीरगञ्जमा आइतबार पनि विरोध प्रदर्शन गरेको छ।
वीरगञ्जको घण्टाघर चोकबाट निस्केको विरोध र्याली नगरको विभिन्न भागलाई परिक्रमा गरी पुन: घण्टाघरमा आएर सभामा परिणत भएको थियो। सभालाई सम्बोधन गर्दै जसपा नेपालका नेताहरुले अख्तियारको छापामारी शैलीप्रति दुख प्रकट गरेका थिए।
उनीहरुले अख्तियार संघीयता सिध्याउन खोजेको आरोप लगाएका छन्। विरोध र्यालीमा सहभागी भएका जसपाका नेता/कार्यकर्ताले 'अख्तियार मुर्दाबाद, प्रदेश सरकार जिन्दाबाद , बेटी पढाउ , बेटी बचाउ जिन्दाबाद' लगायतको नारा लगाएका थिए।
‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रममा अनियमितता भएको आशंकामा अख्तियारको टोलीले चार दिनअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापामारी केही कागजात लगेको थियो।
अख्तियारको छापामारीविरुद्ध जसपाको केन्द्रीय समिति र प्रदेश समितिको निर्देशन अनुसार प्रदेश दुईको आठ वटै जिल्ला सदरमुकाममा अख्तियारविरुद्ध प्रदर्शन भएको छ। शनिबार प्रदेश २ का सबै जिल्लामा मसाल जुलुस निकाली अख्तियारविरुद्ध जसपाले प्रदर्शन गरेको थियो।