झापामा ट्राफिक प्रहरीको नयाँ कार्यालय भवन निर्माण

फाइल तस्वीर
फाइल तस्वीर

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नयाँ भवन निर्माण भएको छ। प्रदेश नम्बर १ सरकारको आर्थिक सहयोगमा अढाइ तले पक्की भवन एक करोड ८८ लाख ८५ हजार ५७७ रुपैयाँको लागतमा निर्माण भएको हो।

विर्तामोड नगरपालिका–५ मा ट्राफिक प्रहरी कार्यालयको नाममै रहेको छ कट्ठा जग्गामा सो भवन बनेको हो। सो जग्गा सडक विभागको यान्त्रिक कार्यालयको थियो। यान्त्रिक कार्यालय हटेसँगै ट्राफिक प्रहरीको नाममा लालपुर्जा आएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक निशेष चापागाईले बताए। विसं २०७६ जेठ ९ गते शृङ्खला निर्माण सेवा प्रालि नुवाकोटसँग सम्झौता गर्दै ट्राफिक प्रहरीका लागि भवन निर्माण अघि बढाइएको थियो। हाल बिर्तामोडस्थित मुक्ति चोक उत्तर सानो र साँघुरो घरबाट ट्राफिक प्रहरीले सेवा दिँदै आएको छ। सो भवनको तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शिलान्यास गरेका थिए।

आधुनिक र सुविधा सम्पन्न ट्राफिक प्रहरीको भवन निर्माण गर्ने उद्देश्यअनुसार अहिले जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण सम्पन्न भएको हो। भवन निर्माण प्रदेश १ सरकारको आर्थिक सहयोगमा सम्पन्न भए पनि कम्पाण्ड वाल भने स्थानीयवासी, व्यापारी, व्यवसायीको आर्थिक सहयोगमा निर्माण भइरहेको प्र नि चापागाईले बताए। निर्माण सेवा कम्पनीले दसैँअघि नै ट्राफिक प्रहरी कार्यालयलाई भवन हस्तान्तरण गर्ने योजना रहेको जनाएको छ।

प्रकाशित मिति: : 2021-10-04 11:30:00

प्रतिकृया दिनुहोस्