६ घण्टापछि चल्न थाले फेसबुक, ह्वाट्स एप तथा इन्स्टाग्राम

AFP

सामाजिक सञ्जाल– फेसबुक, ह्वाट्स एप तथा इन्स्टाग्राम ६ घण्टा बन्दपछि पुनः सेवामा फर्किएका छन्। अबरोध हुँदा अर्बौँ प्रयोगकर्ताले सेवा प्रयोग गर्न पाएका थिएनन्। आफ्ना सेवाले शत प्रतिशत काम गर्न भने केही समय लाग्ने फेसबुकका प्रमुख प्रविधि अधिकृतले बताएका छन्।

विश्वव्यापी रूपमा 'डाउन' भएका यी तीनवटै सामाजिक सञ्जाल प्रयाेगकर्ताहरूले ट्विटरमार्फत् लगातार गुनासो गरिरहेका थिए।सोमबार रातिबाट एक्कासी सेवा बन्दा हुँदा उनीहरूले झण्डै ६ घण्टा हैरानी भाेग्न बाध्य भए।

फेसबुक, ह्वाट्स एप तथा इन्स्टाग्राम पुनः सुचारू भएपनि यसको समस्याबारे अझैसम्म कारण खुलाइएको छैन। 

नेटवर्किङसम्बन्धी समस्या हुँदा यी सेवा वेबसाइट र स्मार्टफोन एपहरूमा चलाउन सकिएको थिएन। यी तीनवटै सामाजिक सञ्जालहरू फेसबुक कम्पनीका हुन्। केही समयको अवरोधका लागि फेसबुकले क्षमा मागेको छ। सेवा प्रभावित भएपछि विश्वभरका १ करोडभन्दा बढी मानिसले फेसबुकमा गुनासो गरेका थिए। 

साइबर सुरक्षा विज्ञहरूले उक्त अवरोध प्रविधिमा देखा परेको आन्तरिक समस्याका कारण सिर्जना भएको हुन सक्ने ठाने पनि त्यो त्यहीँ भित्रकै कसैले सिर्जना गराएको समस्या हुन सक्ने अवस्थालाई सैद्धान्तिक रूपमा सम्भव ठान्छन्।

बाह्य ह्याकिङ भएको सम्भावना चाहिँ कम ठानिएको छ। बीबीसीका उत्तर अमेरिका प्रविधि संवाददाताका अनुसार यसको कारण अझै स्पष्ट भइसकेको छैन।

नेटवर्क समस्या समाधान गर्न र डिजिटल मञ्चलाई पूर्ववत अवस्थामा फर्काउन आफ्ना प्राविधिज्ञले सक्दो छिटो काम गरेको फेसबुकले जनाएको छ। नेटवर्कमा कसरी समस्या आयो भन्ने वारेमा फेसबुकले अनुसन्धान गरिरहेको छ। यसअघि सन् २०१९ मा पनि फेसबुकमा अवरोध भएको थियो। 

डाउनडिटेक्टर डटकमका अनुसार सामाजिक सञ्जाल नचलेपछि कम्तिमा ८० हजार फेसबुक र ५० हजार भन्दा बढी ह्वाट्स एप प्रयोगकर्ताहरूले उजुरी दर्ता गरेका छन्। 

साेमबार रातिदेखि फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताहरूले समाचार अपडेट गर्न सकेका थिएनन्। व्हाट्सएप प्रयोगकर्ताहरूले भने कुनै सन्देश पनि पठाउन पाएनन्।

यो तहको अवरोध फेसबुकले यसअघि सन् २०१९ मा झेलेको थियो जतिखेर १४ घण्टाभन्दा लामो समय अवरोध देखा परेको थियो।

पछिल्लो अवरोधसँगै न्यूयोर्कमा सेअरको मूल्य झण्डै पाँच प्रतिशतले खस्किएको छ।

६ घण्टा बन्दपछि पुनः सञ्चालन भएकाे फेसबुकले क्षमा माग्दै चाँडै नै समस्या पूर्णरूपमा समाधान गर्ने जानकारी दिएकाे छ।

प्रकाशित मिति: : 2021-10-05 06:46:00

प्रतिकृया दिनुहोस्