मनाङ जोड्ने एकमात्र बेसीशहर-चामे सडकखण्ड बुधबारदेखि सञ्चालनमा आएको छ। गत १ असारको बाढीले अवरुद्ध बनेको बेसीशहर- चामे सडकखण्ड साढे तीन महिनापछि सञ्चालनमा आएको हो।
बेसीशहर चामे सडकखण्डको खोत्रोदेखि तिमाङसम्मको १० किलोमिटर सडक मर्मत भएपछि बुधबारबाट सञ्चालनमा आएको मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताए।
चामेसम्मै सवारी पुग्ने भएपछि बेँसीसहरका व्यापारीले समेत सामान पठाउन सहज भएको भन्दै उत्साहित बनेका छन्। सडक अवरुद्ध हुँदा मनाङ जान तथा आउनका लागि एउटै सहारा हेलिकप्टर थियो। बेशीसहर–चामे सडकखण्डको मनाङकै तलेखुदेखि भ्राताङबीचको सडकखण्ड मर्मत भइरहेकाले अब एक हप्तामा खुल्नेछ।
मनसुनको सुरुवातमै आएको बाढीपहिरोले मनाङमा भौतकि संरचनामा ठूलो क्षति पुराएको थियो। बाढीपहिरोले भौतिक क्षति पुर्याएपछि आवतजावतका साथै खाद्यान्न ढुवानीमा समेत हेलीकप्टरकै भर पर्नुपरेको थियो।
अवरुद्ध सडक खुलेसँगै बेँसीसहर चामे सडकमा सिधै सवारी आवतजावत हुँदा यतिबेला यात्रु तथा ढुवानी गर्नका लागि केही सहज भएको मनाङका होटल व्यवसायी अस्मीता गुरुङ बताउँछीन्। ६५ किलोमिटरको बेसीशहर चामे सडकखण्ड लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्दछ।