निजी क्षेत्रको सहकार्यमा देशको अर्थतन्त्रलाई गतिशील बनाउनुपर्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले सरकार, समुदाय र निजी क्षेत्रको सहकार्यमा देशको अर्थतन्त्रलाई थप गतिशील बनाउनुपर्नेमा जोड दिएका छन्। 

स्युचाटार बचत तथा ऋण सहकारी संस्थाको १५औँ वार्षिकोत्सव तथा साधारणसभामा उनले सरकारले समन्वयकारी भूमिकामा रहेर व्यवस्थापन गर्ने भएकाले समुदायलाई उत्पादनसँग जोड्नुपर्ने उनको भनाइ छ। 

'समुदायलाई नै जोडेर विकास र प्रगतिको बाटोमा जानुपर्छ। सरकार, समुदाय र निजी क्षेत्र यी तीन वटा कुरालाई जोडेर जाने हो। यसमा समुदाय मुख्य हो' उनले भने।

हरेक वडामा सहकारी संस्थाले उत्पादन गरोस् र सरकारका कार्यक्रमलाई सहयोग गरेर रोजगारी सिर्जना गरोस् भन्ने आफूहरुको चाहना रहेको अर्थमन्त्रीको भनाइ थियो। 

अर्थमन्त्रीले सहकारीले अधिकांश लगानी अनुत्पादक क्षेत्रमा लगाएको तथ्याङ्कबाट देखिएको भन्दै त्यो लगानी अब उत्पादनमूलक क्षेत्रमा लगाएर समग्र मुलुकको विकास गर्नुपर्ने स्पष्ट पारे। 

उत्पादन क्षेत्रमा लगानी गरे सहकारी संस्थाको मात्र उन्नति नभएर समग्र समुदाय र राष्ट्रकै उन्नति हुने उनको भनाइ थियो। सहकारीले कम्पनी खोलेर पूँजी लगानी गर्न पाउने नीति पारित भएको जानकारी दिँदै उनले ती संस्थाले लगानी गर्न नपाउने स्थिति भएको भन्ने कुराका आधारमा त्यस्तो व्यवस्था गरिएको उल्लेख गरे। 

जनतासँग भएको पैसा सहकारीले सङ्कलन गरेर लगानी गर्न पाउने भन्दै उहाँले यसलाई छिटो कार्यान्वयनको बाटोमा लैजानुपर्छ भन्नेमा आफू रहेको बताए। 

त्यसका लागि कार्यविधि तयार भइरहेको जानकारी दिँदै उनले त्यसबाट अर्बौं बराबरको लगानी उत्पादनमूलक क्षेत्रमा जाने जानकारी दिए।

उनले भने, 'अहिले कतिपय सहकारीले अर्बौं पैसा जम्मा गरेर हिनामिना गरेको कुरा आइरहेका छन् । गाउँका आमाबुवाको भत्ताको पैसा, अलिअलि जोडेको पैसा लिएर कतिपयले बदमासी गरेको कुरा आएको छ । तर त्यस्तो गलत क्रियाकलापलाई निमन गर्ने निकाय खासगरी यहाँ रहेनछ।' 
 

प्रकाशित मिति: : 2021-10-07 20:57:00

प्रतिकृया दिनुहोस्