पर्सा प्रहरीले श्रोत नखुलेको तीन लाख ७८ हजार रुपैयाँसहित एक २५ वर्षीय भारतीय नागरिकलाई शंकराचार्य गेट नजिकबाट पक्राउ गरेको छ।
बिआर २२ ई २७६३ नम्बरको मोटरसाइकलमा भारतको रक्सौलबाट वीरगञ्ज आउँदै गरेका ती २५ वर्षीय युवकको साथबाट श्रोत नखुलेको ३ लाख ७८ हजार नेपाली रुपैयाँ बरामद भएपछि अवैद्य वित्तिय कारोबार ( हुन्डी ) मा संलग्न रहेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राऊ पर्नेमा भारतको बिहार राज्य ग्राम पञ्चायत रक्सौल–४ निवासी २५ वर्षीय सुजित कुमार गुप्ता रहेका छन्। प्रहरी चौकी इनरुवाको वीरगञ्ज–१६ शंकराचार्य गेटमा खटिएको प्रहरी टोलिले नियमित चेकजाँचका क्रममा गुप्तालाई रकमसहित पक्राउ गरेको हो।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए।