'विकल्प' खोज्दै विद्रोही, तानाबाना बुन्दै ओली

पहिलोपोष्ट

प्रकाश भण्डारी

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आफ्नो कुर्सी धरापमा पर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोहोर्‍याउने गरेका थिए - 'म कक्षा दोहोर्‍याएर पढ्दिन '।

उनको सोझो अर्थ 'फेरि अध्यक्षका लागि महाधिवेशनमा उम्मेद्वार हुन्न' भन्ने थियो।

सैद्धान्तिक रुपमा नेकपा विभाजित भएको अवस्थामा सर्वोच्च अदालतले फागुन २३ गते एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदियो। नेकपाकालीन किचलो एमाले ब्युँतिएपछि उत्कर्षमा पुग्यो र अन्तत: एमाले विभाजित भयो। माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी बनाए। अनि, दोस्रो पटक अध्यक्ष नहुने वाचा गरेका ओलीले एमालेमा आइपुग्दा बोली फेरे। जसको प्रष्ट सन्देश ओलीले विधान महाधिवेशन(असोज १५-१७)बाट दिइसकेका छन्।

अध्यक्षमा दोहोरिने चाँजोपाँजो ओलीले विधान महधिवेशनबाट लगाउँदा उनलाई टक्कर दिने नेता भने झन कमजोर बनेका छन्। उनीहरुको गुट यतिमसम्म कमजोर छ कि उनीहरुले ओलीसँग आफ्नो समूहका तर्फबाट छलफल समेत गर्न सकेका छैनन् भने विवादित विषयलाई ओलीले पन्छाइदिएपछि थाती राखेर ओलीकै बोलीमा 'सही मिलाउन' उनीहरु बाध्य बनेका छन्।

७० वर्षे उमेरहदलाई आफू अनुकुल व्याख्या गराएका ओलीले एमालेमा फरक मत राख्नेलाई तितरबितर पार्ने रणनीति बनाएका छन्। कारण - ओलीको रणनीतिको परिणाम स्वरुप उपपहासचिव घनश्याम भुसाल विधान महाधिवेशनमा फरक मत दर्ज गर्न असफल रहे।

ओलीकै गुणगान गाउने दस्तावेजमा ६ हजार बढी प्रतिनिधिले छाप लगाएपछि माहोल ओली अनुकुल बनेको छ एमालेमा। राष्ट्रिय महाधिवेशनको रिहर्सलको रुपमा लिइएको गोदावरी महाधिवेशन एक हिसाबले ओलीको शक्ति प्रदर्शन रह्यो। ओली बाहेक नेताहरुको अस्तित्व एमालेमा नरहेको सन्देश दिन ओली पक्षको रणनीति थियो। जुन केही हदमसम्म सफल पनि रह्यो।

 

प्रकाशित मिति: : 2021-10-12 06:47:00

प्रतिकृया दिनुहोस्