नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले नेपाली फुटबल क्षेत्रमा अझै लामो यात्रा तय गर्नुपर्ने अभिभारा रहेकाे बताएका छन्।
साफ च्याम्पियनसिप फाइन खेलपछि उनले भावुक हुँदै भने, 'यो हाम्रो लागि दुःखको क्षण हो। पहिलोपटक फाइनलसम्म पुग्नु हाम्रो लागि ठुलो उपलब्धि थियाे।'
फुटवल टोलीका खेलाडी, समर्थक, प्रशिक्षक, प्रबन्धक, चिकित्सकलगायतलाई धन्यवाद दिँदै उनीहरू बिना फाइनल पुग्न असम्भव रहेको समेत बताएका छन्।
उनले नतिजा स्विकार गर्दै भने,'भारतसँग अन्तिम म्याच हामीले निराशाजनक साथ हार्यौ। तर समाप्त भएको छैन। हामी अगाडि बढ्न आवश्यक छ।'
अन्तिममा कप्तान चेम्जोङले नेपाली समर्थकलाइ धन्यवाद दिँदै भने, 'अझै लामो यात्रा तय गर्नु छ।'
१३औं संस्कारणको साफ च्याम्पियनसिपको फाइनलमा नेपालले शनिबार चिर–परिचित प्रतिद्वन्दी भारतविरुद्ध फाइनलमा नेपाली युवा टोली मैदानमा उत्रिएकाे थियाे।
प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा खारिएका युवा टोलीले जोस, जाँगर र उच्च मनोवलकासाथ खेल प्रदर्शन गरेपनि जित्न सकेनन्।
खेलपछि प्रशिक्षक अलमुताइरीले नेपाली फुटबल समर्थकबाट धेरै माया पाएको बताएका छन्।
सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, 'मेरो टिमका खेलाडी, अफिसियल सहकर्मी, समर्थक र परिवारलाई धेरै माया गर्छु। अन्तिम साससम्म नेपाललाई माया गरिरहनेछु। मैले नेपाली समर्थकबाट पाएको माया छोड्न सहज छैन।'
प्रशिक्षक अल्मुताइरीले नेपाली फुटबल टिमलाई माया गर्नसमेत आग्रह गरेका छन्।
खेलको पहिलो हाफसम्म भारतलाई गोल गर्नबाट नेपालले राम्रो खेल प्रदर्शन गर्दै रोकेकाे थियाे। तर, दोस्रो हाफपछि ४९औं मिनेटमा भारतीय कप्तान सुनील क्षेत्रीले पहिलो गोल गरेर खेलमा अग्रता लिए। लगतै एक मिनेट नबित्दै ५०औं मिनेटमा सुरेश वाङ्जामले गोल थप्दै दुई गोलले नेपाल पछाडि पर्यो ।
इन्जुरी समयमा भारतका सहाल समादले तेस्रो गोल गर्दै ३-० फाइनल बिजेता हुँदै नेपाल उप–बिजेतामा सीमित हुन पुगेकाे छ।
अहिलेसम्म साफको उपाधि जित्न नसकेको नेपालले शनिबारकाे सुनाैलाे इतिहास रच्ने अवसरसमेत गुमाएकाे छ।