इच्छाराजको दशैं हिरासतमा : विदा अघि ८ सय ८३ जनाको प्रहरीमा उजुरी, ठगी रकम ३ अर्ब ७० करोड नाघ्यो

पहिलोपोष्ट

काठमाडौं

 सिभिल ग्रुप अध्यक्ष तथा सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङको यस पटकको दशैं प्रहरी हिरासतमा नै बितेको छ। सिभिल ग्रुप मातहतका २० भन्दा धेरै कम्पनीहरूका सञ्चालक तामाङलाई प्रहरीले असोज १९ गते ठगी गरेको अभियोगमा नियन्त्रणमा लिएको थियो। उनी मात्र होइन, अन्य ११ जनालाई समेत पक्राउ परेका थिए।

पक्राउ पर्नेहरूमा सञ्चालक समितिका अध्यक्ष केशवलाल श्रेष्ठ, सहजकर्ता प्रबन्धक भगवानबहादुर सिंह, जुनियर असिस्टेन्ट मेनेजर मायानानी महर्जन, जुनियर असिस्टेन्ट मेनेजर एलिना तुलाधर, जुनियर अधिकृत शंकरप्रसाद पाठक छन्।

त्यस्तै, असिस्टेन्ट संगित श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, जुनियर सहायक प्रबन्धक बुद्धराज तामाङ, जुनियर सहायक प्रबन्धक कौस्तुभ केतन ढुंगाना, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजय विक्रम शाह र पूर्व लेखा समिति सदस्य हरिहर लामिछाने पनि पक्राउ परेका हुन्।

सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ इच्छाराजका आफन्त हुन्। उनी नातामा मामा ससुरा पर्छन् तामाङको। उनीहरूले सिभिल क्रेडिट एन्ड सहकारी मार्फत् सयौँ निक्षेपकर्ता ठगी गरेको उजुरी परेको थियो। सुरुमा ७५ जनाले प्रहरीमा उजुरी दिएका थिए। त्यसपछि उजुरी आउने क्रम बढ्दै गएको थियो।

दैनिक ५० जना भन्दा बढी पीडित उजुरी लिएर पुग्ने गरेका थिए। दशैं बिदाभन्दा अगाडिसम्म ८ सय ८३ जनाले तामाङ विरुद्ध प्रहरीमा उजुरी दिएको केन्द्रीय अनुसन्धान ब्युरोका डीआइजी धीरजप्रताप सिंहले बताए। त्यस्तै उनी विरुद्ध ३ अर्ब ७४ करोड रुपैयाँ ठगी गरेको देखिएको छ।

प्रकाशित मिति: : 2021-10-17 16:08:00

प्रतिकृया दिनुहोस्