झापाको कन्काई नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट खेलमा ललितपुरको गोदावरी नगरपालिकाविरुद्ध आधा दर्जन गोलसहित विजयी सुरुवात गरेको छ।
बिहीबार सुरु भएको प्रतियोगिताको दोस्रो खेलमा कन्काई नगरपालिकाले गोदावरी नगरपालिकालाई १२-० गोल अन्तरले पराजित गरेको हो।
कन्काईको जीतमा कुसुम खतिवडाले ह्याट्रिकसहित ६ गोल गरिन् भने कप्तान लक्ष्मी श्रेष्ठले पनि ह्याट्रिकसहित ४ गोल गरिन्। यस्तै, इमा राई र मनिता तुम्रुकले १-१ गोल गरे।
राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षणमा समेत परेकी युवा स्ट्राइकर कुसुमले खेलको १९, ६०, ७२, ८०, ८५ र ९० मिनेटपछि थपिएको एक मिनेटमा गोल गरिन्।
यता, कप्तान लक्ष्मीले खेलको १६, २५, ४५ मिनेटपछि थपिएको एक मिनेट र ४८ मिनेटमा गोल गरिन्। यस्तै, मनिताले ५६ मिनेटमा गोल गर्दा इमाले ६३ मिनेटमा गोल गरेकी थिइन्।
खेलको प्लेयर अफ दि म्याच कन्काईकी दीपा शाही घोषित भइन्।
जीतसँगै समूह 'ए'मा कन्काई महत्त्वपूर्ण ३ अंक जोड्दै शीर्षस्थानमा रहेको छ। समान ३ अंक भए पनि कन्काईले सर्लाहीको बाग्मती नगरपालिकालाई गोल अन्तरमा पछि पारेको हो।
आजै भएको प्रतियोगिताको उद्घाटन खेलमा बाग्मतीले लतिलपुरको महालक्ष्मी नगरपालिकालाई ९-० गोल अन्तरले पराजित गरेको हो।
बाग्मतीको जीतमा राष्ट्रिय टोलीकी स्ट्राइकर रश्मिकुमारी घिसिङले ह्याट्रिकसहित ५ गोल गरिन्। यस्तै, राष्ट्रिय टोलीकी कप्तानसमेत रहेकी रेणुका नगरकोटीले २ गोल गर्दा बाग्मती नगरपालिकाकी कप्तान अनु राई र सुदीपा भोलोनले समान १-१ गोल गरे।
प्रतियोगितामा सहभागी ३१ टोलीलाई १० समूहमा विभाजन गरिएको छ। समूह 'ए'मा चार र अन्य समूहमा तीन टोली रहेका छन्। समूहका विजेता ‘नक आउट’ चरणमा प्रवेश गर्नेछन्।
दिनमा ३ खेल आयोजना हुँदा समूह चरणको खेल १५ कात्तिकसम्म हुनेछ। २२ गतेदेखि प्रतियोगिताको नक आउट खेल हुँदा फाइनल खेल २८ कात्तिकमा हुनेछ।
गत सिजनको राष्ट्रिय लिगमा उत्कृष्ट प्रदर्शन गरेका तीन विभागीय (नेपाल पुलिस, आर्मी, एपीएफ)सहित चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाले प्रतियोगितामा ‘बाई’ पाएका छन्।
फाइनल पुग्ने दुईवटा क्लब छनोट भएसँगै अर्को राष्ट्रिय लिग खेल्ने टोली आठ पुग्नेछन्। यस पटक छनोट खेलमा प्रत्येक टोलीले चार विभागीय खेलाडी खेलाउन पाउने प्रावधान छ।
उपमेयर कपको विजेताले पाँच लाख र दोस्रो हुने टोलीले तीन लाख रुपैयाँ पाउनेछ। फेयर प्ले टिमले नगद ५० हजार रुपैयाँ पाउनेछ।
यता, विधागततर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्दा एक सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछ। यस्तै, प्रत्येक खेलको वुमेन्स अफ दि म्याचले पाँच हजार रुपैयाँ पाउनेछन्।
राष्ट्रिय महिला लिगको साविक विजेता एपीएफ क्लब हो। डबल राउन्ड रोबिनको आधारमा भएको लिगमा एपीएफले दोस्रो स्थानको आर्मीभन्दा १० अंकको अग्रतासहित उपाधि हात पारेको थियो।