कसरी ढल्यो इच्छाराज तामाङको साम्राज्य? दुई दशक लगाएर बनाएको रवाफिलो लिगेसी यसरी मिल्यो धुलोमा

पहिलोपोष्ट

काठमाडाैं

काठमाडौं। नेपालमा हाउजिङ-अपार्टमेन्टको 'अर्गनाइज्ड लिभिङ' प्रति आम धारणा बदल्ने बिम्ब नै बन्यो एउटा निजी कम्पनीको स्लोगन - 'घर भनेकै सिभिल होम्स् !' 

सिभिल होम्स् अर्थात् इच्छाराज तामाङ। इच्छाराज तामाङ अनि नेपाली रियल इस्टेट क्षेत्र। यी सन्दर्भ र अनुक्रमहरु लगभग पछिल्लो दुई दशकभर एक अर्काका परिपूरकजस्तै भए। 

यसबीच तामाङको सानसौकत र ऐश्वर्यको ग्राफ पनि उकालो मात्र चढेको थियो। सभासद नहुँदै डेढ दशकअघि नै पीएसओ लिएर ठाँटका साथ हिँड्ने एकाध व्यवसायीमध्ये उनी पनि थिए। कीर्तिपुरको ट्याङ्लाफाँटमा रहेको उनको घरलाई व्यवसायीहरु 'ट्याङ्लाफाँट दरबार' समेत भन्छन्। नभनुन् पनि कसरी, लगभग १० रोपनीको कम्पाउण्डमा २६ हजार वर्गफिटको आलिशान बङ्ग्लोको राजसी बसाई जो थियो उनको। 

घर मात्र नभएर अफिसमा समेत तामाङको रवाफ कम थिएन। सीटीसी मलमा रहेको आफ्नो अफिस रुमसम्म उक्लिन उनको पर्सनल 'लिफ्ट' छ। उनीबाहेक अरुले प्रयोग नै गर्न नमिल्ने गरी अरुबेला लिफ्टमा साँचो लाग्छ, जुन उनका पीएसओले सँगै लिएर हिँड्छन्। 

रसियाबाट सिभिल इन्जिनिरयरिङ गरेर फर्किएपछि पुल्चोक इन्जिनियरिङ कलेजका पढाउँदाका साथीहरुसँग  मिलेर २०५७ सालमा सिभिल सहकारीबाट व्यवसायिक दुनियाँमा छिरेका तामाङले केही वर्षको अन्तरालमै आफ्नै बलबुँतामा हासिल गरेको यो रवाफिलो मुकाम कुनैपनि नेपाली व्यवसायीका लागि लोभलाग्दो हो। उनको नेतृत्वमा सिभिल समूहका नौ कम्पनी अर्बौंको कारोबार र स्थिर सम्पत्ति (जग्गा तथा भवनसहित) को स्वामित्व होल्ड गर्ने अवस्थामा पुगे।

उपल्लो राजनीतिक पहुँच समेतका कारण नीतिगत तहसम्म बलियो लबी गर्दै रियल इस्टेट व्यवसाय अनुकूल हुने नीतिहरु ल्याउन पहलका साथै यो क्षेत्रलाई नै नेतृत्व दिन वर्षौंसम्म निर्विकल्प भूमिका उनले खेलेको अहिलेका स्थापित डेभलपरहरु समेत बताउँछन्। आफ्नो डोमेनको व्यावसायमा 'सबैतिर मिलाउन सक्ने' चतुर खेलाडीका रुपमा समेत कहलिएका तामाङको व्यवस्थापकीय र नेतृत्व कौशलको तारिफ गर्नेहरु पनि कम छैनन्। सँगै, पावर र पैसाको उन्मादले मैमत्त भएर कसैलाई नगन्ने चरम अटोक्रेटिक स्वाभाव चुलिएको भनि उनको आलोचना गर्ने साथी-सर्कलदेखि आफ्नै कम्पनीभित्रका कर्मचारी पनि उत्तिकै छन्। 

प्रकाशित मिति: : 2021-10-22 12:15:00

प्रतिकृया दिनुहोस्