पाकिस्तानी ‘हिरो’ आसिफ, जसले छोरी गुमाउँदासमेत विश्वकप खेलेका थिए

Photo-NK
Photo-NK

टी–२० विश्वकप २०२१ को सुपर–१२ अन्तर्गत समूह २ को खेलमा अफगानिस्तानविरुद्ध पाकिस्तान ५ विकेटले विजय भयो। जारी प्रतियोगितामा आफ्नो लगातार तेस्रो जित हात पार्दै पाकिस्तानले सेमिफाइनलमा लगभग स्थान पक्का गरेको छ।

पाकिस्तान ६ अंकसहित समूह २ मा शीर्ष स्थानमा छ। उसले शुक्रबार अफगानिस्तानसँग संघर्षपूर्ण जित हात पार्‍यो। यूएई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो।

जवाफी व्याटिङमा उत्रिएको पाकिस्तानले मोहम्मद रिजवानलाई सुरुवातमा गुमायो। तर, कप्तान बाबर आजमले टोलीलाई खेलमा फर्काए। फखर जमानले पनि ३० रनको पारी खेले। खेलमा पाकिस्तान विजयतर्फ बलियो रूपमा अघि बढिरहेको थियो।

कप्तान बाबर आजम र अनुभवी ब्याट्सम्यान मोहम्मद हफिजले उत्कृष्ट इनिङ्स खेल्दै विजयी ह्याट्रिकको दौडमा थिए। त्यतिबेला स्पिनर राशिद खान बलिङ गर्न आए र पहिलो पटक मोहम्मद हफिजलाई आउट गरे।

त्यसपछि राशिदले १२२ रनको स्कोरमा बाबर आजमलाई बोल्ड गरे भने १८औं ओभरको अन्त्यमा नवीन उल हकले पनि शोएब मलिकलाई प्याभिलियनको बाटो देखाए। अब २ ओभर मात्र बाँकी थियो र पाकिस्तानलाई अझै जितका लागि २४ रन चाहिएको थियो।

त्यसपछि पीचमा आए आसिफ अली र शादाब खान। अफगानिस्तानले खेललाई ट्र्याप गरेजस्तो देखिन्थ्यो भने खेल रोमाञ्चक बनिरहेको थियो। अफगानिस्तानका तीव्र गतिका बलर करिम जानत बलिङ गर्न आए। यस ओभरको पहिलो, तेस्रो, चौथो र पाँचौं बलमा आसिफले ४ छक्का प्रहार गर्दै पाकिस्तानलाई जित दिलाए।

अन्तिम ओभरमा जाने अपेक्षा गरिएको खेल आसिफले ५ बलमा समाप्त गरे। आसिफले ७ बलमा ४ छक्का प्रहार गर्दै अविजित २४ रन खेल्दै पाकिस्तानलाई लगातार तेस्रो जित दिलाए।

न्युजिल्यान्डविरुद्ध शारजाहमा भएको अन्तिम खेलमा पनि आसिफले लक्ष्य पछ्याउने क्रममा अन्तिम मिनेटमा धमाकेदार प्रदर्शन गरेका थिए। उक्त खेलमा आसिफले १२ बलमा १ चौका र ३ छक्का सहित अविजित २७ रन खेलेका थिए।

को हुन् आसिफ अली ?

पाकिस्तानी टोलीका लागि लगातार दुई खेलमा ‘हिरो’ बनेका खेलाडी हुन्, आसिफ अली। ३० वर्षीय आसिफको जन्म १ अक्टोबर १९९१ मा पाकिस्तानको फैसलाबादमा भएको थियो। उनले झण्डै ८ वर्षसम्म घरेलु क्रिकेटमा आफ्नो जादु देखाइरहे।

तर, उनले अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने मौका पाएनन्। आसिफले २०१७ मा पोखराबाट ईपीएलसमेत खेलेका थिए। ईपीएलमा उनको प्रदर्शन भने सम्झनलायक रहेन।

उनले २०१८ मा पाकिस्तान सुपर लिग (पीएसएल) मा इस्लामाबाद युनाइटेडलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेले। सोही वर्ष उनले पाकिस्तानका लागि एकदिवसीय र टी–२० खेल्ने मौका पाए।

१ अप्रिल २०१८ मा उनले वेस्ट इण्डिजविरुद्ध डेब्यु गरेका थिए। उक्त खेलमा पनि उनले सम्झनलायक प्रदर्शन गर्न सकेनन् र एक रनमा आउट भएका थिए। सोही वर्ष जुलाईमा जिम्बावेविरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यु गरेका उनले उक्त खेलमा ४६ रन बनाएका थिए।

२०१९ मा पाकिस्तानको एकदिवसीय विश्वकप टोलीमा पर्नु अघि उनले छोरीलाई गुमाएका थिए। सो समयमा पाकिस्तानले इंग्ल्याण्डसँग पाचौं एकदिवसीय खेल खेलिरहेको थियो। उनकी २ वर्षीय छोरी नुर फतिमा क्यान्सरको चौथो तथा अन्तिम चरणमा थिइन्।

छोरीको मृत्युको बाबजुद पनि उनी देशको लागि विश्वकप खेलेका थिए। आसिफ सधैं ‘पावर हिटर’ र फिनिसरको रूपमा चिनिन्छन्। हाल उनी टी–२० विश्वकपमा पनि त्यस्तै गरिरहेको देखिन्छ।

प्रकाशित मिति: : 2021-10-30 16:09:00

प्रतिकृया दिनुहोस्