उपाधी दाबेदार भारत आईसीसी टी-२० विश्वकप क्रिकेटमा लगातार दोस्रो हार ब्यहोरेको छ। आइतबार सुपर-१२ को समूह-२ को खेलमा भारत न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएको हो। योसँगै भारतको सेमिफाइनलमा यात्रा कमजोर भएको छ। न्युजिल्यान्डले भने सेमिफाइनल यात्रा बलियो बनाएकाे छ।
जितका लागि १११ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १४ ओभर ३ बलमा पूरा गर्याे। न्युजिल्यान्डका ओपनर डर्याल मिचेलले सर्वाधिक ४९ रनको योगदान दिए। कप्तान केन विलियम्सन ३३ रनमा अविजित रहे।
यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११० रन मात्र बनायो। रविन्द्र जडेजाले सर्वाधिक २६ रनको योगदान दिए। हार्दिक पान्ड्याले २३ रन बनाए। अन्य कुनै पनि खेलाडी क्रिजमा चल्न सकेनन्।
न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले ३ विकेट लिए। स्पिनर ईश सोधीले २ विकेट लिए।
भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो।
सुपर-१२ को समूह-२ मा पाकिस्तान ३ खेलमा ३ जितका साथ ६ अंकसहित शीर्ष स्थानमा छ। अफगानिस्तान दोस्रो स्थानमा छ। न्युजिल्यान्ड तेस्रो स्थानमा छ। नामिबिया चौथो स्थानमा रहदा भारत र स्कटल्यान्ड क्रमश: पाँचौ र छैटौं स्थानमा छन्।
समूह-१ मा इंग्ल्यान्ड ३ खेलमा ३ जितका साथ ६ अंक जोड्दै शीर्ष स्थानमा छ।