आज रमा एकादशी व्रत: थाहा पाउनुहाेस् पञ्चाङ्ग र राशिफल

एजेन्सी

चिरञ्जीवी  भारद्वाज

आज १५ कात्तिक सोमबार, तदनुसार नोभेम्बर महिनाको १ तारिक। कात्तिक कृष्णपक्ष, रमा एकादशी व्रत। विशेषगरी एकादशीको दिन चामलबाट बनेको परिकार नखाने र एकादशी व्रत लिने चलन छ।

नेपाली समाजमा चार्तभास साउनदेखि कात्तिक महिनाको बीचमा पर्ने एकादशीको व्रत लिने प्रचलन बढी छ। सोमबारे एकादशी परेकाले आजको दिन सनातनीहरूका लागि अर्को विशेष दिन हो। आजको सूर्योदय बिहान ६ः१५ र सूर्यास्त साँझ १७ः१८ मा हुनेछ। आजको चन्द्रमा सिंह राशिमा रहेको छ। आजको देवता भनेको पितृ हो भने ग्रहदेव राहु रहेको छ।

सोमबार शिवको प्रिय बार भएकाले शिव मन्दिरमा दर्शन गर्ने जाने प्रचलन पनि बढी छ। आजको नक्षत्र पूर्वाफाल्गुनी रहेको छ। आज बिहान ११ः२६ देखि १२ः१० सम्मको समय अभिजित मुहूर्त भएकाले त्यतिबेलाको समयलाई शुभ मानिन्छ। बिहान ०७ः३८ देखि ०९ः२ सम्मको समयमा राहुकाल रहेको छ। राहुकाल भएको समयमा शुभकर्म गर्दा नकारात्मक प्रभाव पर्छ।  

आजको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिमा जातकहरूका लागि आजको दिन यात्रा शुभ मानिन्छ।  मनमा अनेक कुरा खेल्न सक्छन् तर तपाईंले बिहान सूर्योदयको दर्शन गरेर गर्ने निर्णयले तपाईंलाई सफलता दिन सक्छ। अध्ययन, अध्यापनमा रुचि बढ्नेछ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

अनावश्यक विवाद र गृहकलह र मनमा बैचैनी हुन सक्छ। त्यसैले वृष राशिका जातकले आजको दिन आफ्नो नियमित कामबाहेक अन्य काम गर्दा विचार पुर्‍याउनुहोला। कुनै नजिकको मठ मन्दिरको दर्शन गरेर वा आफ्नो घरमा रहेको पूजा मन्दिरको दर्शन गरेर मात्र घरबाट बाहिर निस्कनुहोला।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

सुख, समृद्धि र उत्साहको दिन रहेको छ। मिथुन राशिका जातकका लागि नयाँ काम गर्न सक्नुहुनेछ। सोमबार शिवालयको मन्दिरमा गएर जल चढाँउदा सरकारी कामका कुनै बाधा उत्पन्न भएको छ भने सफलता प्राप्त हुनेछ।

कर्कट (हि.हु.हे.हो.डा.डि.डु.डे.डो)

दिन कष्टकर रहेको छ। त्यसैले आजको दिन कम बोल्ने र आफ्नो नियमित कामबाहेक अन्य काममा ध्यान नदिनुहोला। सोमबार शिव बार भएकाले शिवालय दर्शन गरेर मात्र कुनै कामको सुरुवात गर्नुभयो भने काममा सफलता र तपाईंको मनोबल वृद्धि हुनेछ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

चन्द्रमा सिंह राशिमा भएकाले सिंह राशिका जातकका लागि आजको दिन उत्तम मान्न सकिन्छ। तर पनि आज अनावश्यक विवाद हुने खालका काम नगर्नुहोला। मनमा चिन्ता र भय हुने भएकाले घरका वरिष्ठ सदस्यको सल्लाहअनुसार वा कार्यलयका प्रमुखहरूको आज्ञाकारी वचनलाई मानेर काम गर्नुहोला।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

आजको दिन कन्या राशिका व्यक्तिका लागि अनावश्यक खर्च, व्ययभार हुने देखिन्छ। यदि तपाईंको कन्या राशि हो भने आज बिहान घरमा आफ्ना छोरी वा कन्यालाई केही दान गर्नु र फलफूल दिनु वेश हुनेछ। त्यसो गर्दा तपाईंको मनमा उत्साह र हौसला उत्पन्न हुनेछ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तपाईंले आजको दिन सुरुवात गरेको काम कार्यसिद्धि हुनेछ। त्यसैले आजको दिन तुला राशिका जातकका लागि व्यापार व्यवसाय र नयाँ कामको थालनी र आफ्नो काममा ध्यान दिनुभयो भने तपाईंलाई सफलता प्राप्त हुनेछ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

आध्यात्मिक यात्राका लागि आजको दिन उत्तम रहेको छ। त्यसैले वृश्चिक राशिका जातकले नजिकैको मठ मन्दिरको यात्रा र यात्रामा निस्कनु भन्दा पहिले घरका वृद्ध सदस्यको आशीर्वाद लिएर काम सुरु गर्नुभयो भने तपाईंको काममा साथ र सहयोग प्राप्त हुनेछ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिन्छ। त्यसैले आफ्नो जीवनशैली र कार्यशैलीमा ध्यान दिनुहोला। मनमा चिन्ता र भय हुनेछ। आजको दिन लामो दूरीको यात्रामा जानु छ भने केही परामर्श गरे तपाईंको यात्रामा सफलता प्राप्त हुनेछ। यदि तपाईं वाहन चलाउनुहुन्छ भने होसियारीपूर्वक यात्रा गर्न जरुरी छ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आकस्मिक संकटको सामना गर्दै कार्य गर्नुपर्नेछ। मनमा चिन्ता लिएर घरबाहिर निस्कनु भन्दा पहिले आजको दिन मौन र आफ्नो नियमित कामबाहेक अन्य मित्र र आफन्तजनको घर वा कार्यालयमा नजानु वेश हुनेछ। यदि जानै पर्ने अवस्था भएमा पूर्व दिशातर्फबाट आफ्नो इष्ट देवताको नाम लिएर जानुहोला। 

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

आकस्मिक धनलाभको योग रहेको छ। विगतका कसैलाई ऋण दिएको तर उसले फिर्ता गरेको छैन भने आजको दिन पहल गर्नुभयो भने तपाईंको धन प्राप्त हुन सक्छ। त्यसैले तपाईं व्यापार व्यवसायमा हुनुहुन्छ भने ऋण र सापटी दिएका सबै व्यक्तिलाई एक पटक सम्पर्क गर्दा तपाईंको अर्थभार वृद्धि हुन सक्छ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मनमा प्रसन्नता छाउनेछ। तपाईंले आजको दिन अध्ययन, अध्यापन र अनुसन्धानको काममा ध्यान दिएर सुरुवात गर्नुभयो भने तपाईंको यो साता सफल हुनेछ। त्यसैले आइतबारको दिन मीन राशि भएको जातकले हरेक सोमबार शिवालयको मन्दिरमा गएर जल चढाँउदा तेजस्वीपन बढ्छ। 

प्रकाशित मिति: : 2021-11-01 07:03:00

प्रतिकृया दिनुहोस्