अवसरवादलाई परास्त नगर्दासम्म कम्युनिष्ट आन्दोलन बलियो हुँदैन–पोखरेल

नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले अवसरवादलाई परास्त नगर्दासम्म कम्युनिष्ट आन्दोलन बलियो नहुने बताएका छन्।

नेकपा एमाले दाङले बिजौरी गोलीकाण्डका सहिद पुष्प घिमिरे, नारायण चौधरी र कृष्ण चौधरीको २७ औं स्मृति दिवसको अवसरमा विजौरीमा आयोजना गरेको कार्यक्रममा बोल्दै पोखलले भने,‘कम्युनिष्ट आन्दोलनभित्र फैलिएको दक्षिणपंथी अवसरवादलाई परास्त नगर्दासम्म बलियो र एकताबद्ध कम्युनिष्ट पार्टी निर्माण गर्न सकिदैन। प्रचण्ड र माधव नेपालमा रहेको अवसरवादी प्रवृत्तीको अन्त्य नहुँदासम्म बलियो कम्युनिष्ट पार्टी बनाउन सकिदैन।’

कांग्रेसका विरुद्ध भोट मागेर आफ्नै सरकार ढालेर कांग्रेसलाई नै प्रधानमन्त्री बनाउने प्रचण्ड–माधवको अवसरवादी प्रवृत्तीका कारण कम्युनिष्ट आन्दोलन तहस नहस भएको भन्दै पोखरेलले आगामी निर्वाचनका माध्यमबाट अवसरवादको अन्त्य गर्नुपर्ने बताए। 

‘राजनीतिमा अवसरवादका पर्याय भनेका प्रचण्ड–माधव हुन् भन्ने जनताले बुझिसकेका छन्। आफ्नो स्वार्थपूर्तिका लागि कम्युनिष्ट आन्दोलनलाई कसरी कमजोर बनाइयो भन्ने बुझेका जनताले निर्वाचनमा उक्त प्रवृत्तीलाई नङ्ग्याउने छन्’, पोखरेलले  भने। 

शेरबहादुरको नेतृत्वमा समाजवादको यात्रा गर्छौं भन्नु हाँस्याद्पद 

कार्यक्रममा बोल्दै पोख्रेलले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा मुलुकलाई समाजवादसम्म पुर्याउँछौं भन्ने प्रचण्ड–माधवको अभिव्यक्ति हाँस्याद्पद भएको बताए। समाजवादको सपना देखाएर जनतासँग भोट मागेका प्रचण्ड–माधवले कम्युनिष्ट पार्टीको सरकार ढालेर जनमतको उपहास गरेको भन्दै पोखरेलले प्रचण्ड–माधवको उक्त कदम इतिहासकै कलंकीत भएको दाबी गरे।

‘शेरबहादुर नेतृत्वमा समाजवादसम्म पुग्छौं भनेर प्रचण्ड–माधवले उद्घोष गरिरहेका छन्’, पोखरेलले भने,‘प्रचण्ड–माधवले समाजवादको कुरा गर्दैछन्, त्यो पनि शेरबहादुर देउवाको नेतृत्वमा, यो भन्दा मजाकको विषय अरु के बन्न सक्छ ?’

कम्युनिष्ट आन्दोलनको दुई चुनौति 

दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता कम्युनिष्ट आन्दोलनका मुख्य चुनौति भएको भन्दै पोखरेलले महाधिवेशनबाट यी प्रवृत्तीको अन्त्य गर्ने बताए। अधिवेशनबाट नेतृत्व बदल्ने भन्ने ओलीको प्रस्ताव मानेको भए कम्युनिष्ट आन्दोलन बिगठन नभई थप बलियो बन्ने दाबी गर्दै पोखरेलले प्रचण्ड र माधव नेपालभित्रको अवसरवादले कम्युनिष्ट आन्दोलन कमजोर बनेको बताए। 

‘केन्द्रीय कमिटीबाट नेतृत्व बदल्ने र कांग्रेससँग मिलेर सरकार बदल्न खोजेकै कारण कम्युनिष्ट आन्दोलन बिगठन भएको हो’, पोखरेलले  भने,‘एकता जोगाउन अन्तिमसम्म हामी खटेका थियौं। प्रचण्ड निवासमा पुगेर मैले दुर्घटना रोक्न चैतसम्म धैर्य गर्न आग्रह गरेको थिएँ। चैतसम्म त ढिला हुन्छ भनेर प्रचण्डले भन्नुभएको थियो। मेरो प्रस्ताव मानेको भए कम्युनिष्ट आन्दोलनको नेतृत्व प्रचण्डले गर्नुहुने थियो। उहाँले ठूलो अवसर गुमाउनुभयो।’

सरकारका सय दिनका उपलब्धी भूमि आयोग बिगठन र सुकुमबासीमाथि गोली प्रहार 

देउवा सरकारका सय दिनका मुख्य उपलब्धी भनेका भूमि आयोग गठन र सुकुमबासीमाथि गोली प्रहार भएको बताएका छन्। सरकारलाई पूर्णता दिन एक सय दिन खर्चिएको सरकारले जनतालाई निरास बनाएको बताए।

‘सुकुमबासीहरुलाई जग्गाको मालिक बनाउने केपी ओली नेतृत्व सरकारले गरेका उपलब्धी देख्न नसकेको देउवा सरकारले भूमि आयोग गठन गरेर कीर्तिमानी कायम गरेको छ’, पोखरेलले भने,‘आफूलाई कम्युनिष्ट आन्दोलनका धरोहर दाबी गर्ने प्रचण्ड माधवहरु सामेल भएको सरकारले सुकुमबासीमाथि गोली हान्नु दुखद् कुरा हो। भूमि आयोग बिगठन र सुकुमबासीमाथि गोली प्रहार गर्ने सरकारका दुई कदम ऐतिहासिक बन्नेछन्।’

जिल्ला अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य शान्ता चौधरी, नरुलाल चौधरीलगायतले बाेलेका थिए।

प्रकाशित मिति: : 2021-11-03 21:31:00

प्रतिकृया दिनुहोस्