बूढो र छोरो

शिलापत्र

काठमाडौँ
File Photo
File Photo

एक साँझ, अजङ्गको नदीवारि, मरुभूमिजस्तो बगरमा दुई जना मानिस जीवनको गम्भीरतम् प्रश्नबारे गम्दै उभिएका थिए। एउटा थियो बाबु- यौवन, सौन्दर्य, उल्लास र सिर्जनात्मकता आदि जीवनका यावत् सजीव लक्षणहरूबाट च्यूत भएको, विदीर्ण हृदय र जीर्ण शरीर भएको एउटा निस्सार बूढो।

अर्को थियो बूढाको छोरो- सूर्यमुखी फूलझै‌ँ संवेदनशील, फक्रदाे कमलझैँ सौन्दर्य र सुवासले भरिपूर्ण, वसन्त ऋतुको आकाशको अनन्त उचाइतिर चढ्दै गएको सूर्यझैँ यौवन, तेज र साहसको सजीव प्रतिमूर्ति। उल्लास र सिर्जनात्मक भावनाले छताछुल्ल भएको तन्नेरी छोरो। उनीहरूको पछिल्तिर एउटा मन्दिर थियो, समयका निर्मम पाइलाले जुगौँजुग कुल्चेर गजुरको रङ्गरोगन खुइलिएको, भित्ताहरूमा कालक्रमको काई लागेको र देवताको आसन ओसिएको। भक्तजनहरूद्वारा पूर्ण परित्यक्त। र, उनीहरूको अघिल्तिर थियो बडेमाको नदी, पानीका हेमानका पहाडहरूलाई ठेल्दै खोकिलाभित्र भयङ्कर गोही, विषालु अजिङ्गर र अनेकन हिंस्रक जलजन्तु बोकेर आदिकालदेखिको यात्रामा अटुट, अथक र निर्वाधरूपले बगिरहेको। डाँडापारी डुब्न लागेको घामको दोछायाँमा नदीपारि अनकन्टार जङ्गल देखिन्थ्यो- कालो, धकलाग्दो र एकलास।

कम्मरसम्म चिहानमा डुबिसकेको बूढो बाबुले तन्नेरी बाघजस्ता छोराका हात समात्दै भन्यो, ‘प्रिय छोरा! जीवनको यस अन्तिम घडीमा यो एक्लो, बैरागलाग्दो, उजाड मरुभूमिमा, देवतासरी पूज्य तेरो जन्मदाता, निर्धो बाबुलाई अलपत्र पारेर तँ पारि नजा। तँ आफ्नो कर्तव्य नबिर्सी। जीवनदाता बाबुप्रतिको पवित्र कर्तव्य तँ नबिर्सी। हेर त, डाँडामुनि घाम डुबिसक्यो, अँध्याराका मुस्लाहरूले वसन्तकालको बेगवान् बादललेझैँ चराचर जगतलाई छोप्दै लगे। त्यो अन्धकार के हो तँलाई थाहा छ, बाबु ? त्यो प्रलयको अन्तिम सूचना हो। विनाशको भयङ्कर घोषणा हो त्यो । मेरो मृत्यु हो, म निर्धो र निर्वल परेवामाथि झम्टिन आइरहेको आक्रमणकारी बाज हो त्यो।’

आँखाबाट आँसुका बलीन्द्र धारा बगाउँदै, थर्थरी काम्दै, मरुभूमिजस्तो उजाड बाबुले मध्याह्नको सूर्यझैँ तेजले धप्धपी बलेको छोरोलाई भन्यो, ‘प्रिय छोरा,  जीवनको अत्यन्त दुःखपूर्ण यस घडीमा, नर्ककुण्डको यातनामय बैतर्णी नदीमा डुब्न लागेको तेरो यो अनाथ बाबुलाई यस्तो हालतमा छाडेर तँ उता नजा।’

प्रकाशित मिति: : 2021-11-04 10:52:00

प्रतिकृया दिनुहोस्