विद्यार्थी नेता आले भन्छन्- मेवा खेतीबाटै वार्षिक ३० लाख कमाउने हाे

शिलापत्र

रमेश भारती

तनहुँकाे व्यास नगरपालिका-१३ बेलबासका बसन्त आले विद्यार्थी नेता भनेर परिचित छन् । तर अब उनी आफूलाई विद्यार्थी नेतासँगै व्यवसायिक किसान भनेर पनि चिनाउन लागिपरेका छन् । 

आलेले तनहुँको पोखरी भञ्ज्याङमा २ सय ९० रोपनी बाँझो जमिन भाडामा लिएर मेवा खेती थालेका छन् । ताइवान रेडलेडी ७ सय ८६ जातका मेवाका बिरुवा ल्याएर उनले खेती सुरु गरेका हुन् ।

पहिले परिवर्तनका लागि राजनीति गरिएकाे बताउँदै उनले अब कृषिमा क्रान्ति ल्याउन मेवा खेती सुरु गरेकाे बताए । आलेले नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य रहेर काम गरिसकेका छन् । 

‘दुई सय ९० रोपनी बाँझो जमिन भाडामा लिएर दुई हजार बिरुवा हुर्किए । थप पाँच हजार बिरुवा लगाउने काम भइरहेको छ’, उनले भने, ‘समय र मौसमले साथ दिए वार्षिक ३० लाखभन्दा बढी मेवा खेतीबाटै आम्दानी गर्ने लक्ष्य राखेकाे छु ।' आफू मात्र नभएर अन्य राजनीतिकर्मीहरूलाई पनि कृषिमा लाग्ने प्रेरणाका लागि यो पेशामा आएको उनको तर्क छ ।

प्रकाशित मिति: : 2021-11-11 14:32:00

प्रतिकृया दिनुहोस्