युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यास गरेका छन्।
मन्त्री नियुक्त भएलगत्तै उनले कोहलपुरमा राष्ट्रिय क्रिकेट महिला एकेडेमी निर्माण गर्ने घोषणा गरेका थिए।
तीनदिने जिल्ला भ्रमणमा निस्किएका मन्त्री गहतराजले आफ्नो पहिलो निर्णय कार्यान्वयन गर्ने क्रममा आईतबार महिला क्रिकेट एकेडेमी शिलान्यास गरेका हुन्।
कार्यक्रममा बोल्दै खेलकुद मन्त्री गहतराजले कोहलपुर क्रिकेट मैदान र राष्ट्रिय क्रिकेट महिला एकेडेमी मन्त्रालयको प्राथमिकतामा रहेको बताए।
एकेडेमी निर्माणकालागि ‘फास्ट ट्रयाक’मा डिपिआर तयार भइसकेको जानकारी दिँदैं आफ्नै कार्यकालमा पूर्वाधार निर्माणको प्रक्रिया सुरु गरिने बताए।
रात्रीकालीन खेल सञ्चालन गर्न सकिने तथा आवासीय सुविधासहित अन्तर्राष्ट्रिय स्तरमा निर्माण गरिने एकेडेमीको लागत १ अर्ब २२ करोड अनुमान गरिएको उल्लेख गर्दै भने, ‘यो बहुवर्षीय योजना हो, आगामी ३ वर्षभित्र सम्पन्न गर्नेगरी तत्कालै पुर्वाधार निर्माणको काम अगाडि बढाइन्छ।’ एकेडेमीको संरचना अनुसार क्रमशः बजेट बढ्दै जाने उनले बताए।
एक फरक प्रसंगमा बोल्दै मन्त्री गहतराजले कोहलपुर नगरपालिकाभित्र निर्माण गर्ने भनिएको कोहलपुर खेल मैदानका लागि ७० लाख बजेट सुनिश्चित भएको जानकारी दिए।
‘एक पालिका एक खेल मैदान’ को नीति अनुसार कोहलपुर नगरपालिकाले कोहलपुर खेल मैदान निर्माण गर्ने निर्णय गरेको थियो।
राष्ट्रिय खेलकुद परिषद (राखेप) का पदाधिकारी तथा इञ्जिनीयरको टोलीसहित कोहलपुर पुग्नुभएका मन्त्री गहतराजले त्यस क्रममा निर्माणाधीन अवस्थामा रहेको कोहलपुर क्रिकेट मैदानको समेत अनुगमन गरेका थिए।