दाङमा लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुँदै

दाङमा लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ। 

दाङ जिल्ला तेक्वान्दो (आई.टि.एफ) संघको आयोजनामा आउने पुस ९ गतेदेखि ११ गतेसम्म प्रदेश स्तरीय प्रतियोगिता हुन लागको संघका अध्यक्ष भिमबहादुर थापाले जानकारी दिए ।

प्रतियोगितमा प्रदेशका १२ जिल्लाका ३ सय ५० जना खेलाडीहरुले सहभागिता जनाउने भएका छन्। साथै ४० जना अफिसियलहरु पनि सहभागी हुने संघका अध्यक्ष थापाले बताए। सोमबार घोराहीमा पत्रकार सम्मेलन गरेर प्रतियोगिता घोराही उपमहानगरपालिका १७ को खेलमै दानमा हुने आयोजकले जानकारी दिएको हो। 

जिल्लामा खेल क्षेत्रको विकाससँगै खेलाडीहरुको क्षमता विकासका लागि प्रतियोगिता सञ्चालन गर्न थालेको भन्दै अध्यक्ष थापाले प्रतियोगितालाई भव्य बनाउनका लागि सबैलाई सहयोगको गर्न आग्रहसमेत गरेका थिए। 

'दाङमा आईटिएफ खेल क्षेत्रको विकाससँगै खेलाडीहरुको क्षमताअभिवृद्धि गर्नका लागि प्रतियोगिता आयोजना गरेका छौं’,अध्यक्ष थापाले भने,‘प्रतियोगिताले खेलाडीहरुले आफ्नो क्षमता प्रस्तुत गर्न पाउने छन्।’

प्रतियोगिताले जिल्लामा खेलसँगै पर्यटन क्षेत्रको विकासमा समेत सहयोग गर्नेसमेत थापाको भनाई छ। प्रतियोगितामा पुरुषतर्फ २० केजी तौल सूमहदेखि ८० केजीसम्म र महिलातर्फ २० केजी तौल समूहदेखि ७५ केजी तौल समूहका खेलाडीहरुले सहभागिता हुन पाउनेछन्।

प्रतियोगितमा प्रथम, द्वितीय र तृतीय हुने जिल्लाले नगद पुरस्कारसहित मेडल र ट्रफी पाउने छन्। 

आर्थिक सहयोगका लागि आग्रह

पत्रकार सम्मेलनमा खेल प्रतियोगिता सञ्चलन गर्न आर्थिक समस्या भएको आयोजक दाङ जिल्ला तेक्वान्दो (आई.टि.एफ) संघका अध्यक्ष थापाले बताए। उनले खेल सम्पन्न गर्न १४ लाख बढी लागत लाग्ने अनुमान गर्दै आर्थिक सहयोग गरिदिन पनि आग्रह गरे।

अध्यक्ष थापाले अहिले आर्थिक सहयोगका लागि केही प्रतिबद्धताहरु आएको भएपनि संकलन भइनसकेको बताए। उनले भलिवल, क्रिकेट खेलहरुमा स्थानीय, प्रदेश सरकारहरुले आर्थिक सहयोग गर्ने गरेको भएपनि तेक्वान्दो खेलप्रति भने सरकारले चासो दिन नसकेको दाबी गरे।

‘क्रिकेट, भलिवल लगायत खेलमा सबैले सहयोग गर्ने, बजेट छुट्याउने गर्छन । मेयर कप, उपमेयर कप हुन्छ,’ अध्यक्ष थापाले भने, ‘तर इन्डोर (भित्र) खेलिने तेक्वान्दो लगायत खेलहरुमा भने सहयोग गरिदैन। सहयोग छैन ।’

अन्य खेलहरुको जस्तै तेक्वान्दोको पनि विशेष प्रकारको महत्व रहेको भन्दै सबैलाई सहयोग गरिदिन उनले आग्रह गरे।

पत्रकार सम्मेलनका प्रमुख अतिथि घोराही उपमहानगरपालिका वडा नं। १३ का वडा सदस्य केशव गिरीले तेक्वान्दो खेल स्वास्थ्यका लागि अति नै फाइदाजन भएको उल्लेख गर्दै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। 

उनले आफूहरुले पहिले खेल खेल्नका लागि सेतो कपडा लगाउनेसमेतको वातावरण नभएको भन्दै अहिले तेक्वान्दोको महत्व सबैले बुझ्दै गएको र र खेलप्रति सबैको चासो बढ्दै गएको बताए। 

यस्तै दाङ जिल्ला तेक्वान्दो (आई.टि.एफ) संघका सहल्लाकार प्रेम बुढा मगर, मिनराज घिमिरे र हरिकला बाँठा मगरलगायतले खेल सञ्चालनका लागि सहयोग गर्नेछन्। 

 

 

 

प्रकाशित मिति: : 2021-11-22 19:44:00

प्रतिकृया दिनुहोस्