रुमेशको गोलमा च्यासलको पहिलो जित

File Photo
File Photo

रुमेश बर्तौलाको निर्णायक गोलमा च्यासल युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न पहिलो खेलमा च्यासलले विभागीय टोली एपिएफलाई १-० ले पराजित गरेको हो। ४९औं मिनेटमा राइट कर्नर साइटबाट कमल श्रेष्ठले मिलाएको पासमा १८ यार्ड बक्स लाइनबाट रुपेश बर्तौलाले गरेको प्रहारले सेकेन्ड बारमा जाली चुमेको थियो।

जितसँगै च्यासलले पहिलो तीन अंक जोड्यो। यता, एपीएफको भने लगातार दोस्रो हार हो। दुबै टोलीले खेलमा केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन्। १५औँ मिनेटमा च्यासलका कमल श्रेष्ठलाई मनबहादुर रानामगरले फाउल गरेपछि प्राप्त फ्रि किकमा कमलको प्रहार एपीएफका गोलकिपर राजु योगीले पन्च गरि फ्याँकिदिए।

१७औँ मिनेटमा १८ यार्ड भित्रबाट च्यासलका अजित गुरुङले गरेको प्रहारलाई गोलरक्षक योगीले फेरी विफल पारिदिए। ४०औँ मिनेटमा च्यासलका विकास मेराग्लियानको हेड एपीएफका राजन गुरुङले रोकेपछि रिबाउन्डमा सुशन लामाको प्रहार एपीएफका सनिश श्रेष्ठले गोल लाइन नजिकबाट क्लियर गरिदिए।

दोस्रो हाफको चौथो मिनेटमा नै च्यासलले अग्रता लिएको थियो। ५७औँ मिनेटमा च्यासलका मउसाले गरेको प्रहार एपीएफका कप्तान टोपबहादुर विष्टबाट डिफ्लेक्ट हुँदै बल पोस्टको माथिल्लो जालीमा अट्किएको थियो।

६५औँ मिनेटमा च्यासलका केचाको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो। लिगको पहिलो खेलमा दुबै टोली पहिलो खेलमा पराजित भएका थिए। पहिलो खेलमा एपीएफ ब्रिगेड ब्वाइजसँग ३-२ ले तथा च्यासल थ्री स्टारसँग ३-० ले पराजित भएको थियो।

आजको दोस्रो खेलमा हिमालयन शेर्पाविरुद्ध मनाङ मर्स्याङ्दी मैदान उत्रदैछ। खेल दशरथ रंगशालामा अपरान्ह ४ः४५ बजेबाट सुरु हुने छ।

प्रकाशित मिति: : 2021-11-27 15:16:00

प्रतिकृया दिनुहोस्