राष्ट्रिय क्रिकेट : कर्णाली प्रदेश विजयी

File Photo
File Photo

कर्णाली प्रदेश, प्रदेश नं २ लाई पराजित गर्दै १९ वर्षमुनि (यु–१९) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ। मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कर्णालीले प्रदेश नं २ लाई दुई विकेटले पराजित गरेको हो। 

यसअघि लुम्बिनी प्रदेशलाई १४० रनको फराकिलो अन्तरले पराजित गरेको कर्णाली  त्यसपछि लगातार चार खेलमा पराजित हुदैँ प्रतियोगिताबाट बाहिरिएको थियो। प्रदेश नं २ को पनि फाइनल खेल्ने सम्भावना समाप्त भएको छ। खेलमा ४६ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले १३ दशमलव ३ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गरे। कर्णालीको जितमा प्रकाश जैसीले सर्वाधिक १६ रन जोडे। राज शाहले ६, विपीन रावलले ५ तथा रमेश बुढाले ३ रन बनाए।

बलिङतर्फ प्रदेश २ का राजेश यादवले सर्वाधिक ६ विकेट लिए। विवेक यादवले २ विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ थालेको प्रदेश २ ले १३ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ४५ रन बनाए। प्रदेश २ का लागि सन्नी साहले सर्वाधिक १२ रन जोडे। सन्तोष कार्कीले ११ रन बनाए। पाँच खेलाडी शून्यमै आउट भए। कर्णालीका प्रकाश जैसी एक्लैले ८ विकेट लिनुभयो भने अनुज चनाराले २ विकेट लिए। सात प्रदेश सम्मितलित प्रतियोगिताका शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन्।

फाइनल खेल यही मङ्सिर १९ गते हुनेछ। लुम्बिनी ६ खेलमा ५ मा जित र १ मा हारसहित १० अङ्कका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको छ। त्यस्तै सुदूरपश्चिम ५ खेलमा ३ मा जित र २ मा हारसहित दोस्रो स्थानमा छ। लिगको अन्तिम खेलमा सुदूरपश्चिमले वाग्मती प्रदेशसँग कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार खेल्नेछ। वाग्मती प्रदेश ५ खेलमा २ मा जित र ३ मा हारसहित ४ अङ्कका साथ चौंथो स्थानमा छ। 

प्रकाशित मिति: : 2021-12-02 13:25:00

प्रतिकृया दिनुहोस्