‘पार्टीमा एक व्यक्ति, एक पद र एक कार्यकाल हुनुपर्छ’

कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेले पिछडिएको क्षेत्रबाट सह-महामन्त्रीमा उम्मेदवारीको घोषणा गरेका छन्। पाण्डे १३औं महाधिवेशनमा खुला तर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुन्। नेविसंघमा दुई कार्यकाल उपाध्यक्ष पनि रहे। उनलाई हामीले सोध्यौँ– पिछडिएको क्षेत्रबाट यहाँले उम्मेदवारी दिनु कतिको तार्किक हो, पिछडिएको क्षेत्रबाट उम्मेदवारी दिने सही व्यक्ति यहाँ नै हो त ? उनले यसमा आफूले क्रमिक रुपमा उम्मेदवारी दिँदै आएको र पद दोहोर्‍याउन नहुने बताए। प्रस्तुत छ, उनको उम्मेदवारी र १४औँ महाधिवेशनका सन्दर्भमा काठमाडौं प्रेसकर्मी शुष्मा बरालीले उनीसँग गरेको वार्ता :

१४औं महाधिवेशनबाट कस्तो नेतृत्व आउने यहाँको अपेक्षा छ ? र, यहाँको धारणामा कस्तो नेतृत्व ल्याउनुपर्छ ?

१४औं महाधिवेशनबाट समय सापेक्ष, समयसँगै चल्न सक्ने, समयको पदचापलाई बुझ्न सक्ने नेतृत्व आवश्यक देख्छु। अहिले राजनीतिक पार्टीहरूमा केही विसंगति बढेका छन्, त्यो विसंगतिलाई निराकरण गर्न सक्ने, पार्टीलाई विधि र विधानको बाटोबाट चलाउन सक्ने, विधि मान्ने र विधि व्यवस्थापन गर्न सक्ने नेतृत्वको खाँचो छ।

संक्षिप्तमा भन्दा, अहिलेको नेतृत्व परिवर्तन भयो भने नयाँ पुस्ता आउँछ, उसले केही नयाँ परिवर्तन गर्ला भन्ने अपेक्षा आम मानिसको छ, त्यही अनुसार नेतृत्व आउनुपर्छ भन्ने लाग्छ।

कांग्रेस पार्टीभित्र पुरानो गुटगत प्रवृत्ति छ, यो प्रवृत्ति हटाएर कांग्रेसलाई साझा पार्टी बनाउन के गर्नुपर्ला ?

निर्वाचनका बेला विभिन्न समूह बन्छन्। किन बन्छन् भने, निर्वाचन एक्लै जितिने र एक्लै गरिने काम होइन यो। राजनीति, संगठन भनेको एक्लै गर्न सकिँदैन। कुनै जमाना थियो होला, व्यक्तिसँग दैविक शक्ति थियो, अहिले शक्ति भनेकै समूह हो। एउटा भनाइ नै छ, ‘संघे शक्ति कलौ युगे’ अर्थात् कलियुगमा संघ–संगठन नै शक्ति हो। निर्वाचन जित्नका लागि पनि पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा समूह चाहिन्छ, संगठन चाहिन्छ, त्यो स्वाभाविक छ। तर समूहको एकअर्का बीचको सम्बन्ध, एकअर्काप्रतिको भावना र प्रतिस्पर्धालाई बिस्तारै अस्वस्थ हुँदै गएको छ। किनभने, आफूले जित्नैपर्ने, आफू मात्रै बन्नुपर्ने संस्कार छ। त्यो संस्कारमा न्यूनीकरण ल्याउन आवधिक अधिवेशन भइरहन्छ, आइरहन्छ, गइरहन्छ, यसपटक मैले हार्नु र जित्नुले धेरै ठूलो फरक पार्दैन। मैले पार्टी वा संगठन जोगाउन सकुँ, निवार्चित नभए पनि हुन्छ। किनभने अर्कोपटक हुन सक्छु। यही भावनाले प्रतिस्पर्धाको रुप लियो भने पार्टीले सही गन्तव्य पक्रन्छ भन्ने लाग्छ। तर, समूह वा गुट चाहिँदैन भन्नु र यसलाई हटाउन खोज्नु असम्भव छ।

प्रकाशित मिति: : 2021-12-07 12:00:00

प्रतिकृया दिनुहोस्