म्याग्दीको बेनीमा जेसिज कप अन्तरमावि फुटबल प्रतियोगिता सुरु भएको छ। यही मङ्सिर २५ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको उद्घाटन बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठले गरे।
‘खेलाडीको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल–जेसिजकप फुटवल’ नाराका साथ सुरु भएको १९औँ संस्करणको उक्त प्रतियोगितामा जिल्लाका २१ विद्यालय सहभागी छन्। उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, म्याग्दी जेसिजका संस्थापक अध्यक्ष रमेश श्रेष्ठ, वर्तमान अध्यक्ष वीरेन्द्र श्रेष्ठलगायतले आ–आफ्नो धारणा राखेका थिए। प्रतियोगिताको विजेताले रु ५२ हजार र उपविजेताले रु ३२ हजार पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक कुमार बानियाँले जानकारी दिए।
प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्टाइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदियमान खेलाडीलाई पुरस्कृत गरिनेछ।