क्रान्तिकै लागि जन्मियो काँग्रेस

गोरखापत्र

काठमाडौँ

नेपाली काँग्रेसको चौधौँ राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ। काँग्रेसले आफूलाई समयसापेक्ष कसरी परिष्कृत गर्ने र नयाँ नेतृत्व कस्तो चुन्ने भन्ने बहस पनि सँगसँगै चलिरहेको छ। यस सन्दर्भमा काँग्रेस कुन परिवेशमा जन्मिएको थियो भन्ने पृष्ठभूमिमा
जान आवश्यक छ।

नेपाली कांँग्रेस स्थापनासँग भारतको स्वतन्त्रता आन्दोलन जोडिएको छ। बीपी कोइरालाको मान्यता थियो– भारत स्वतन्त्र नभएसम्म नेपालमा राणाशासन ढाल्न सकिन्न। भारतलाई बेलायती उपनिवेशबाट मुक्त नगरेसम्म त्यो सम्भावना छैन भन्ने आम प्रजातन्त्रवादीको दृष्टिकोण थियो। त्यसक्रममा बीपी स्वयं भारतीय स्वतन्त्रता आन्दोलनमा होमिनुभयो। आन्दोलनका क्रममा उहाँ पटक पटक गरी पाँच वर्षसम्म भारतीय काराबासमा समेत बस्नुभयो। भारत स्वतन्त्र हुने सङ्केत देखिएपछि बीपीले भारतबाटै सन् १९४४ अक्टोबर २ मा एउटा वक्तव्य जारी गर्नुभयो। वक्तव्यको मूल सन्देश अब नेपालमा प्रजातन्त्र स्थापनाका लागि आन्दोलन गर्नुपर्छ भन्ने थियो। त्यो वक्तव्यले नयाँ बाटो निर्माण भयो। आन्दोलन गर्नुअघि एउटा समिति गठन भयो। समितिमा भारत निर्वासनमा रहेका नेताहरू संलग्न थिए। समितिले सन् १९४७ जनवरी २६ मा सम्मेलन गर्ने निधो ग¥यो। समितिले नयाँ गठन हुने पार्टीको नाम, झन्डा र विधान तय गर्ने निर्णयसमेत गरेको थियो।

विसं २००३ माघ १२ र १३ गते कलकत्ताको खाल्सा स्कुलमा सम्मेलन भयो। सम्मेलनमा भएको छलफलले पार्टीको नाम जुरायो– नेपाली राष्ट्रिय कांँग्रेस। झन्डा पनि तय भयो। झन्डामा हिमाल, पहाड र तराईलाई समेट्ने गरी माथि सेतो, बीचमा हरियो र तल पहेंँलो रङ्गसहित सूर्य उदाइरहेको तस्बिर पनि राख्ने निधो भयो। सम्मेलनले टङ्कप्रसाद आचार्यलाई अध्यक्षमा चयन ग¥यो भने बीपीलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दियो। गणेशमान सिंहले सम्मेलनमा उपस्थित भए पनि समितिमा बस्न अप्ठेरो हुने धारणा राख्नुभयो तर टङ्कप्रसादलाई अध्यक्ष बनाउन गणेशमानकै भूमिका थियो। समितिको महामन्त्रीमा बालचन्द्र शर्मा, प्रचार अध्यक्षमा डिल्लीरमण रेग्मी, सङ्गठन मन्त्रीमा कृष्णप्रसाद भट्टराई र सदस्यमा गोपालप्रसाद भट्टराई, देवव्रत परियार, लाक्पाछिरिङ शेर्पालगायत कार्यसमितिको सदस्य हुनुहुन्थ्यो।

प्रकाशित मिति: : 2021-12-10 11:05:00

प्रतिकृया दिनुहोस्