सरकारको प्रतिबन्धको विरोधमा अस्ट्रियामा दशौं हजारको प्रदर्शन

File Photo
File Photo

अस्ट्रियामा कोभिड नियन्त्रण गर्न सरकारले लगाएको प्रतिबन्ध र अनिवार्य खोपको विरोधमा दशौं हजार मानिसहरुले सडकमा प्रदर्शन गरेका छन्। प्रदर्शनमा ५० हजार भन्दा बढी मानिसहरुको सहभागीता थियो। प्रदर्शन नियन्त्रण गर्न सयौं प्रहरी परिचालन गरिएको थियो। एक साताअघि पनि सरकारको प्रतिबन्धको विरोधमा हजारौं प्रदर्शनकारीले राजधानी भियनामा विशाल प्रदर्शन गरेका थिए।

मास्क नलगाएको र उत्तेजक गतिविधि गरेको भन्दै प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। प्रदर्शनको रिपोर्ट गरेका सञ्चारकर्मीहरुलाई पनि प्रदर्शनकारीले हिउँ र बरफका डल्लाले हिर्काएका थिए। आक्रमणमा एक पत्रकार घाइते भएको प्राप्त विवरणमा जनाइएको छ।

प्रदर्शनलाई दक्षिणपन्थी दल अस्ट्रियन फ्रिडम पार्टीका नेता हर्वट किकले सम्बोधन गरेका थिए। उनले महामारीविरुद्ध सरकारले चालेको कदमको विरोध गर्दै आएका छन्। सरकारले खोप नलगाएका व्यक्तिको भावना नबुझेको भन्दै उनले आगामी दिनमा पनि प्रदर्शन जारी रहने बताए।

संक्रमितको संख्या बढेसँगै अस्ट्रियामा गत महिना लकडाउन घोषणा गरिएको थियो। पछिल्लो समयमा संक्रमण बढेपछि पुनः लकडाउन गर्ने अस्ट्रिया पहिलो युरोपेली देश हो। 
 

प्रकाशित मिति: : 2021-12-12 09:10:00

प्रतिकृया दिनुहोस्