पौडी टोली भोलि आबुधाबी जाँदै

File Photo
File Photo

१५औँ विश्व फाना पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा सहभागी हुन नेपाली पौडी टोली सोमबार (भोलि) आबुधाबी जाँदै छ। १५ देखि २१ डिसेम्बरसम्म हुने प्रतियोगितामा समान २-२ पुरुष र महिला गरी चार खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। 

पुरुषको २०० मिटर फ्रिस्टायल र व्यक्तिगत मिड्लेमा नासिर हुसैन तथा ५० र एक सय फ्रिस्टायलमा एलेक्स शाहले प्रतिस्पर्धा गर्नेछन्।

महिलाको ५० र १०० मिटर फ्रिस्टायलमा अनुश्रिया तण्डुकार तथा ५० र १०० मिटर ब्रेस्टस्ट्रोकमा उपास्ती महर्जनले सहभागिता जनाउने छन्। अमेरिकामा रहेका एलेक्स त्यतैबाट आबुधाबी जाने नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जनाएका छन्।

प्रशिक्षकमा नयना शाक्य तथा व्यवस्थापकमा अनिश महर्जन छन्। टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्यसचिव घिसिङले नयाँ उपलब्धी हासिल गर्न खेलाडीलाई उच्च मनोबलका साथ प्रदर्शन गर्न बताउँदै खेलाडीले व्यवस्थापनमा नभई आफ्नो खेल र प्रशिक्षणतिर मात्र ध्यान दिन आवश्यक रहेको बताए।

उनले राष्ट्रिय टिमको प्रदर्शन व्यवस्थित गर्न राखेपले हाइ पर्फमेन्स कमिटी गठनको तयारी गरिरहेको जानकारी गराए।

प्रकाशित मिति: : 2021-12-12 16:36:00

प्रतिकृया दिनुहोस्