पर्खाइ चामलको- नखाई नहुन्या, नखाई नबाँच्न्या (भिडियो रिपोर्ट)

शिलापत्र

दिनेश गौतम

कालीकोटको रास्कोटकी ५० वर्षीया देउली सुनार अगेनोको छेउमा बसेर धिपधिप बलेको आगो ढुङ्ग्रीले फुक्दै थिइन् । डेक्चीमा भात छड्कँदै थियो । ‘यो पनि किनेको चामल हो । के गर्न्या, पेट पाल्नुपर्‍यो त,’ देउलीले चामलको व्यथा फुकाइन् । गत असोजमा परेको अविरल वर्षाले खेतमा फलेको धान भित्र्याउन दिएन, उनलाई । उनको खेतमा ६ बोरा धान फल्थ्यो । तर, यो वर्ष एक बोरा पनि भित्र्याउन पाइनन्, उनले । 

‘धान रोप्यौँ । गोडमेल गर्‍यौँ । काटेर गह्रामा राख्यौँ । घरभित्र पस्ने बेला पानीले लग्यो । केही रहेन । धान खेतमै उम्रियो । मुखको गाँस खोसियो,’ उनले भनिन्, ‘नखाई नहुन्या, नखाई नबाँच्न्या । किनेको चामलले जहान पाल्नु पर्‍यो त ।’ आठ जनाको देउलीको परिवारलाई आफ्नै खेतमा फलेको धानले जेनतेन पाँच महिना टर्थ्यो । तर, यो वर्ष पहिलो महिनामै चामल बेसाउनुपर्‍यो, देउलीको परिवारले । 

‘धानले चैतसम्मलाई पुग्थ्यो । अब नपुग्ने भयो । मकै पनि ढलेर गयो । भटमास, सिमी पनि कुहियो । तरकारी पनि छैन,’ उनले भनिन्, ‘थोरै मकै र कोदो छ । रोटी र सिस्नुले केही छाक टर्छ । त्यसपछि के गर्न्या हो, थाहा छैन ।’ वर्षात्‌ले तरकारी पनि निमिट्यान्न पारेपछि देउलीकी बुहारी सिस्नु खोज्न लेकतिर निस्किएकी थिइन् । रातको ७ बज्दा पनि उनकी बुहारी सिस्नु लिएर आइपुगेकी थिइनन् । ‘पकाउन दाल छैन । बुहारीले लेकबाट सिस्नो ल्याएपछि पक्याउन्या हो,’ मुस्कुराउँदै उनले भनिन्, ‘खाए पनि यी दन्त हाँस्छन्, नखाए पनि हाँस्छन् । दन्त अँध्यारो हुनु छैन त ।’

प्रकाशित मिति: : 2021-12-14 21:31:00

प्रतिकृया दिनुहोस्