लिगकै सर्वाधिक ६ गोल निस्किएको खेलमा विभागीय एपीएफ क्लब र न्युरोड टिम एनआरटीले अंक बाँडेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको पहिलो खेलमा एपीएफ र एनआरटीले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
लिगकै सर्वाधिक गोल निस्किएको खेलमा एपीएफका लागि आशिष लामा, दिपेश धिमाल र नवीन लामाले एक एक गोल गरे। एनआरटीको लागि दर्शन गुरुङले दुई गोल गर्दा मेसौके ओलोमोउले एक गोल गरे।
सुरुआती अग्रता बनाएको एनआरटी दोस्रो पटकसमेत अग्रता बनाउँदा जितबाट बन्चित भयो। ७ अंक जोडेको एनआरटी छैठौं स्थानमा छ। पाँच अंक बनाएको एपीएफ ११औं स्थानमा यथावत छ।
अहिले साँझ पौने ५ बजे हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। पुलिस ५ खेलमा ५ अंक जोडेर दशौँ स्थानमा छ। फ्रेन्ड्सलाई हराएर पुलिस अंक तालिका सुधार्ने योजनामा छ।
फ्रेन्ड्स ५ खेलमा २ अंक जोडेर पुछारमा छ। पुलिसलाई हराएर फ्रेन्ड्स रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ।
लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। पुछारका दुई टोली रेलिगेसनमा पर्नेछ । जारी लिगमा मनाङ मर्स्याङ्दी क्लब शीर्षस्थानमा छ।