ए डिभिजन लिग: शेर्पाको दोस्रो जित, पराजित च्यासललाई रेलिगेसनबाट जोगिने दबाब

पिस्टोन मुटुम्बाको दुई गोलको मद्दतमा हिमालयन शेर्पाले सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबलाई ३–१ ले पराजित गरेको छ। दशरथ रंगशालमा शनिवार भएको खेलमा शेर्पाले च्यासललाई हराएको हो।

यसअघि ब्रिगेड ब्वाइजविरुद्ध ३–१ ले नै जित हात पार्दा गोल गरेका पिस्टोन मुटुम्बा र सुरेश कुमालले आज पनि गोल गरे। खेलको २५औँ मिनेटमा केन्याका खेलाडी मुटम्बाले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका हुन्।

पहिलो हाफमा अग्रता कायम राखेको शेर्पाले दोस्रो हाफमा दुई गोल थप्दा च्यासलले एक गोल मात्र फर्काउन सक्यो। ५६औँ मिनेटमा मुटुम्बाले व्यक्तिगत दोस्रो गोल गरेपछि हिमालयन शेर्पाले अग्रता दोब्बर बनायो। जारी लिगमा मुटुम्बाको यो तेस्रो गोल समेत हो।

७५औँ मिनेटमा च्यासलका रुमेश बर्तौलाले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। तर, सुरेश कुमालले ८०औँ मिनेटमा गोल गरेपछि शेर्पाले ३–१ को सहज जित हात पारेको हो। कुमालले यो लगातार दोस्रो खेलमा गोल हो।

लिगमा लगातार दोस्रो जित निकालेको हिमालयन शेर्पा अंकतालिकामा तीन स्थान सुधार गर्दै छैटौँ स्थानमा समेत उक्लेको छ। हिमालयनले ६ खेलबाट ८ अंक जोडेको छ। 

उता, च्यासलले भने सिजनको चौथो हार बेहोरेको छ। जारी सिजन च्यासल धेरै हार बेहोर्ने टोली समेत बनेको छ। ६ खेलबाट ४ अंक रहेको च्यासल १३औँ स्थानमा रहँदै रेलिगेसनसँग संघर्ष गरिरहेको छ।

प्रकाशित मिति: : 2021-12-25 17:03:00

प्रतिकृया दिनुहोस्