सेक्टर काण्ड सम्झाउने प्रचण्डको आत्मालोचना, तैपनि उनै निर्विकल्प

शिलापत्र

जनक नेपाल

महाधिवेशनको बन्दसत्र हलमा उभिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियामा आएपछिका आफ्ना ‘बोल्ड’ निर्णयप्रति नै आत्मालोचना गरेका छन् । पार्टी अहिलेको कमजोर स्थितिमा आउनुको दोष उनी आफैँले सकारेका छन् ।

पार्टी सञ्चालनमा जनवादी केन्द्रीयताको विधि भत्काएको स्वीकारेका प्रचण्डले एकैपटक संविधान र विद्रोहको द्वैध नीति लिँदा राजनीतिक अस्पष्टताले पार्टी विभाजन हुन पुगेकोमा पनि आत्मालोचना गरेका छन् । त्योभन्दा अगाडि बढेर उनले बन्दसत्रमा भने, ‘जनमुक्ति सेनाको समायोजन र हतियार बुझाउनेजस्तो अत्यन्त गम्भीर र संवेदनशील निर्णय केन्द्रीय कमिटीमै नलगेर व्यक्तिगत बिजनेस डिलझैँ भयो ।’

बन्दसत्रमा प्रचण्डले आफ्नै नेतृत्व क्षमतामाथि प्रशस्त प्रश्न उठ्नेगरी विगतका निर्णयप्रति आत्मालोचना गरेका छन् । पार्टी र नेतृत्वबारे उनले प्रस्तुत गरेको समीक्षाले नेकपा चौमको लिगेसीबाट आएका धेरै नेताहरूलाई २०४५ सालको सेक्टर काण्ड सम्झाएको छ ।

क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल सेना समायोजनको निर्णय व्यक्तिगत रूपमा गर्नु प्राविधिक कमजोरी मात्र नभई राजनीतिक अपराध नै भएको बताउँछन् । ‘त्यो नै माओवादी आन्दोलन धराशयी हुुनुको मूल कारण थियो,’ उनले भने, ‘प्रचण्ड आफैँले त्यो गल्ती स्वीकारिसकेपछि के गर्ने भन्ने महाधिवेशनले निर्णय गर्ला । अरुको पार्टीबारे यसै गर्नुपर्छ भन्न त मिलेन तर त्यो आत्मालोचना गरेर सुख पाइने विषय भने होइन ।’

गजुरेल शान्ति प्रक्रियामा आएपछि प्रचण्डले गरेका गल्ती २०४५ सालको सेक्टर काण्डभन्दा धेरै गुणा गम्भीर रहेको बताउँछन् । सेक्टर काण्ड त्यही घटना थियो, जहाँबाट प्रचण्ड पार्टी नेतृत्वमा उदाएका थिए । तत्कालीन मशाल कार्यकर्ताले सशस्त्र विद्रोहमा होमिन आह्वान गर्दै १९ चैत २०४५ मा काठमाडौंको त्रिपुरेश्वर चोकको राजा त्रिभुवनको सालिकमा कालो मोसो दलिदिए । केही प्रहरी पोस्टमा तोडफोड गरे ।

प्रकाशित मिति: : 2021-12-28 22:13:00

प्रतिकृया दिनुहोस्