‘ऊ त्यहाँ हेर्नुस् त, भर्खरै उद्धार गरेर ल्याएको...’
छेवैमा रहेको घाइते गाई देखाउँदै रामहरि श्रेष्ठले गाईवस्तुका कथा सुनाउँदै थिए । सडकमा छोडिएका गाईवस्तुको अवस्थालाई लिएर उनी चिन्तित देखिन्थे । करिब पाँच वर्षदेखि यस्तै असहाय गाईवस्तुको उद्धारमा सक्रिय उनी मानिसको स्वभावलाई लिएर आक्रोशित सुनिए ।
बातैपिच्छे उनले एउटै कुरा दोहोर्याइरहे – कस्ता निर्दयी मानिस !
श्रेष्ठको कुरामा साथ दिँदै सँगै रहेका टीकाराम कार्कीले थपिहाल्थे - मानवता त मरेर गएछ !
गाईवस्तुलाई सकेसम्म प्रयोग गरिरहने, नसक्ने भएपछि सडकमा अलपत्र छोडिदिने मानिसको प्रवृत्तिलाई लिएर नै उनले त्यसो भनिरहेका थिए । लामो समयदेखि अङ्गभङ्ग भएका गाईवस्तु देखिरहेकाले पनि उनलाई मान्छेको स्वार्थीपनदेखि वितृष्णा जागेको थियो । त्यसैले त मानिसहरू निर्दयी मात्र हुँदैनन् भनेर प्रमाणित गर्न श्रेष्ठको समूहले असहाय गाईवस्तुको उद्धार गर्ने अठोट नै लियो ।