एपीएफसँग रोकिँदा आर्मीको उपाधि दाबेदारी कमजोर

File Photo
File Photo

विभागीय प्रतिद्वन्द्वी एपीएफ फुटबल क्लबसँग एक एक  गोलको बराबरी खेल्दै अंक बाढेपछि सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी फुटबल क्लबको उपाधि दाबेदारी कमजोर बनेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सातौँ चरणको पहिलो खेलमा लिएको अग्रता चार मिनेट पनि टिकाउन नसक्दा आर्मी अंक बाढ्न बाध्य भएको हो।

स्ट्राइकर जर्ज प्रिन्स कार्कीले ६३औं मिनेटमा गरेकोे गोलबाट आर्मीले अग्रता लिएको थियो। सबिन थापाले बक्स बाहिर जर्जलाई रोक्न नसक्दा त्यही मुभमेन्टमा जर्जले बललाई पोस्टको दिशा दिए। जापानीज गोलरक्षक युया कुरियानाले समेत बललाई ठम्याउन सकेनन् र बलले जाली चुम्यो।

तर त्यसको चार मिनेटपछि नै एपीएफ खेलको लयमा फर्कियो।  आर्मीका गोलकिपर विकेश कुथुले नविन लामाको प्रहार नियन्त्रणमा लिन नसक्दा प्राप्त बललाई विकीले  पोस्टको दिशा दिएका थिए। खेलमा दुबै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन्। 

यसअघि नवौं मिनेटमा भरत खवासले बक्स बाहिरबाट हानेको स्लो एयरबल एपीएफका गोलरक्षक याया कुरियामाले विफल पार्दा आर्मीले अग्रता लिने अवसर गुमायो।

२० औं मिनेटमा जगजित श्रेष्ठको कर्नरमा जर्ज प्रिन्स कार्कीको पावर हेड दोस्रो बार नजिकबाट बाहिरिँदा आर्मी पुनः निराश बन्यो। 

३८ औं मिनेटमा एपीएफले अग्रता दिने सुनौलो अवसर गुमायो। स्ट्राइकर आशिष लामा आर्मीका गोलरक्षक विकेश कुथुसँग वान भर्सेस वानमा गोल गर्न चुके। ५३औं मिनेटमा एपीएफका नविन लामाको प्रहार विकेशले विफल पारेका थिए।

आर्मी सात खेलमा ११ अंकसहित चौथो स्थानमा छ। एपीएफले सातौं चरणसम्म १० अंक गुमाइसकेको छ।  एपीएफको समान खेलमा ६ अंकसहित ११ औं स्थानमा छ।

आर्मीको यो लगातार तेस्रो बराबरी हो। पाँचौँ चरणमा सातदोबाटो युथ क्लबसँग अंक बाँडेको आर्मीले छैटौं चरणमा थ्री स्टार क्लबसँग अंक बाँडेको थियो।

शुक्रबार नै हुने दोस्रो खेलमा न्युरोड टिम एनआरटीले फ्रेन्डस क्लबको सामना गर्दै छ।

प्रकाशित मिति: : 2021-12-31 15:29:00

प्रतिकृया दिनुहोस्