अमेरिको मेरिल्याण्ड विधायकसभा सदस्य डा. ह्यारी भण्डारीले गायक राजेश पायल राईमाथि भएको आक्रमणले आफूलाई स्तब्ध बनाएको बताएका छन्।
गायक राईमाथि शनिबार न्युयोर्कमा आयोजित एक सांगीतिक कार्यक्रममा आक्रमण भएको थियो।
डा. भण्डारीले भनेका छन्, स्तब्ध भएँ, यो नेपाली चरित्र हैन र हुनु पनि हुँदैन। आक्रमण जुन स्तरको र जे जस्तो भएपनि आक्रमण नै हो। यस्ता दुस्कर्महरू मनैदेखि निन्दा गरिनुपर्छ। यो नेपालीका लागि सुहाउने काम हैन। त्यसैले यो नै यस्तो अन्तिम दुस्कर्म बन्नुपर्छ।’
उनले आफूले गायक राईको मनस्थितिलाई बुझ्ने भन्दै यो एक अपवाद घटना भएको बताए।
‘म गायक राईको मनस्थितिलाई बुझ्छु र उहाँले जे जसरी घटनालाई लिनुभयो। त्यसको म मुक्तकण्ठले प्रंशसा गर्छु’, उनले भने, ‘यो एक अपवाद घटना हो र यसैको आधारमा अमेरिकाको नेपाली डायस्पोराको चरित्र सामान्यीकरण गरिनु हुँदैन।’
सबैतिरबाट यस्तो घटनाको निन्दा गरिनुपर्ने भन्दै डा. भण्डारीले घटनामा संलग्न जो कोहीलाई पनि कारवाही गर्नुपर्ने बताएका छन्।