दाङको तुलसीपुरमा सम्पन्न राष्ट्रियस्तरकाे टेबल टेनिस प्रतियोगिताकाे उपाधी नेपाल एपीएफ क्लबका दिक्षा तामाङ्ग र पुलिसका स्यान्टु श्रेष्ठले हात पार्न सफल भएका छन्।
दिक्षाले महिला एकल तर्फ सेनाकी रविना महर्जनलाई ४–२ ले पराजित गर्दै स्वर्ण हात पारेकी छिन्। उनले नगद ४० हजार सहित, मेडल र ट्रफी प्राप्त गरेकी छन्। द्वितीय स्थान हासिल गर्ने रविनाले २० हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गरेकी छिन्।
यस्तै, तेश्रो स्थानमा रहेका सेनाकी दिया देउला र पुलिसकी मन्जु सुवालले १०–१० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काको तेस्रो स्मृति दिवसको अवसरमा युथ अफ तुलसीपुर दाङको आयोजना भएको प्रतियोगिताको पुरुष एकलतर्फ राष्ट्रिय च्याम्पियन स्यान्टुले पुलिसकै विनेश खनियालाई ४–२ ले पराजित गर्दै पुरुष एकलको उपाधी हात पारेका छन्।
उनले नगद ४० हजार मेडल र ट्रफी प्राप्त गरे। विनेशले द्धितीय स्थान हासिल गरी नगद २० हजार प्राप्त गरेका छन्। यस्तै तेश्रो स्थानमा रहेका सेनाका दिप साउन र एपिएफका संयोगक कपालीले नगद १०, १० हजार मेडल र प्रमाण पत्र प्राप्त गरेका छन्। पुस १६ देखि १८ गतेसम्म संचालित प्रतियोगितामा तीन विभागीयसहित २८ टिमको सहभागीता रहेको थियो।
समापन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले राज्यले खेलकुदको विकास गर्न लगानी बढाउन नसकेको बताएका छन्। ‘खेलकुदको विकासमा राज्यको लगानी निकै कम छ,’ उनले भने, ‘केहि नीजि क्षेत्रका कारण थोरै भएपनि खेलाडी र खेलकुदको विकास भएको छ।’
उनले विश्वभरी राष्ट्रको झण्डा फहराउने, देशको इज्जत राख्ने खेल क्षेत्रका गतिविधिहरु पलायन हुँदै जाँदा खेलाडीहरू खिया लागेको हतियार जस्तै भइसकेको बताएका छन्। ‘खेलकुदका माध्यमबाट खेलाडीले नेपाललाई विश्वमा चिनाएका छन्,’ उनले भने, ‘तर खेलकुदमा राज्यले लगानी गर्न सकेको छैन्।’
उनले कोरोना महामारीका कारण थला परेको खेलकुद क्षेत्रलाई ‘युथ क्लब’ले राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गरि खेलाडी र खेलप्रेमीलाई उत्साह थपेको बताएका छन्। खेल क्षेत्रको पछिल्लो अवस्था दयनिय बन्दै गएको अवस्थामा खेलकुदका गतिबिधिहरूलाई व्यापक रुपमा अगाडि बढाउन जरुरी रहेको उनको धारणा छ।