प्रदेश १ का १३ जिल्लामा एमालेको अधिवेशन जारी 

प्रदेश १ मा नेकपा एमालेको १३ जिल्लामा अधिवेशन जारी रहेको छ। केही हिमाली जिल्ला भएकाले संखुवासभामा अधिवेशन भएको छैन भने अन्य जिल्लामा अधिवेशन जारी रहेको छ। 

मोरङ र झापामा पदाधिकारी सर्वसम्मत चयन भएका छन्। झापामा पोलिडब्युरो सदस्य हिकमत कार्कीका दाजु दीपक कार्की अध्यक्ष भएका छन् भने प्रेम गिरी उपाध्यक्ष, शिव ढुंगेल सचिव, चन्द्र श्रेष्ठ र असारु राजवंशी उपसचिव सर्वसम्मत चुनिएका छन्।

यस्तै मोरङ अध्यक्षमा ऋसिकेस पोख्रेल उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा, उपसचिवमा सन्तोष शाह सर्वसम्मत चुनिएका छन्। दुवै जिल्लामा मनोनयन दर्तामा उनीहरूको मात्रै नाम परेको निर्वाचन समितिहरूले जनाएका छन्। सदस्यहरूमा भने दुवै जिल्लामा आकांक्षी धेरै देखिएपछि मिलाउन थालिएको पोलिटब्युरो सदस्य हिक्मत कार्कीले बताए।

सुनसरीमा भोलिका लागि मात्रै मनोनयन दर्ताको समय तोकिएको छ। सुनसरीमा तीन जना अध्यक्षका आकांक्षी देखिएका छन्। इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरी, हालका अध्यक्ष खेमराज पोख्रेल र रेवतिरवण भण्डारी अध्यक्षका आकांक्षी छन्। ताप्लेजुङमा बल बहादुर साम्सोहाङ र भूपेन्द्र थेबे आकांक्षी देखिएका छन्। सामसोहाङ योगेश भट्टराई निकटका हुन् भने भूपेन्द्र केपी ओली पक्षका हुन्।

यस्तै तेह्रथुममा दुई प्रदेश सांसद अध्यक्षका लागि प्रतिस्पर्धा गरी रहेका छन्। बहाल वाल जिल्ला अध्यक्षसमेत रहेका लक्ष्मण तिवारी र पूर्व अध्यक्ष तेजमान कन्दङवा आकांक्षी देखिएका छन्। माधव नेपाल निकट रहेका तिवारी १० बुँदे सहमति पछि एमालेमा बसेका थिए। 

मन्त्री दिने सर्तमा एमालेमा बसेका उनलाई तेह्रथुमका एमालेका नेता तथा कार्यकर्ताले उम्मेदवारी घोषणा गरेपछि विरोध जनाएको प्रेस चौतारी तेह्रथुमका अध्यक्ष कृष्ण विदुखी गौतमले बताए। उदयपुरमा तीन जना आकांक्षी देखिएपछि मिलाउने प्रयास भइरहेको प्रदेश सांसदसमेत रहेका नेता विमल कार्कीले बताए। 

यस्तै पूर्व मुख्यमन्त्री शेरधन राईको गृह जिल्ला भोजपुरमा पनि दुई आकांक्षी देखिएका छन्। मकर खड्का र शरण राई अध्यक्षका लागि प्रतिस्पर्धा गरिरहेको पूर्व मुख्यमन्त्री राईका प्रेस सल्लाकार धुव्र सुवेदीले बताए।

धेरै जिल्लामा सर्वसम्मत गर्ने प्रयास भइरहेको नेकपा एमाले प्रदेश १ का अध्यक्ष तुलसी न्यौपानेले बताए। उनले भोलिसम्ममा धेरै जिल्लामा सर्वसम्मत नेतृत्व छानिने समेत दाबी गरे। केही जिल्लामा चुनाव हुने अवस्था देखिएको समेत उनले बताए।

१ नम्बर प्रदेशमा १० बुँदेमार्फत एमालेमै बसेर उनीहरूले नेतृत्व गरेको जिल्लामा भने निर्वाचन हुने देखिएको छ। तेह्रथुम, ताप्लेङ्गलगायतका जिल्लामा १० बुदेमार्फत एमालेमा बसेकाले जिल्लाको नेतृत्व गरेका थिए। शुक्रबारदेखि जिल्ला अधिवेशन सुरु भएको हो।

प्रकाशित मिति: : 2022-01-08 20:03:00

प्रतिकृया दिनुहोस्