दमक-चिसापानी सडक : निर्माण कम्पनीले काम नगरेपछि पेटी ठेक्का दिने तयारी

निर्माण कम्पनीले कामै नगरेपछि झापाको दमकबाट इलामको चिसापानीसम्म पुग्ने दमक-चिसापानी सडक (फाल्गुनन्द मार्ग) निर्माणका लागि पेटी ठेक्का दिने तयारी भएको छ। निर्माण कम्पनीले पटकपटक म्याद थपेर पनि सडक अलपत्र छाडेपछि सडक डिभिजन कार्यालय दमकले निर्माणका लागि दबाब दिएको थियो।

सडक निर्माण गर्न नसक्ने भएपछि पेटी ठेक्का दिने तयारी भएको हो। उक्त सडकको पहिलो खण्ड अर्थात् सात किलोमिटर सडक पटकपटक म्याद थपिँदा पनि अलपत्र छ। यो सडक कालोपत्रे गर्ने ठेक्का महालक्ष्मी-किरातेश्वर जेभीले ३० महिनाभित्र सक्ने गरी २९ साउन ०७५ मा २२ करोड ५९ लाख ६४ हजार ६२७ ठेक्का लिएको थियो। रतुवा नदीको भित्ता काटेर ट्र्याक खोलिसकेको सडक कालोपत्रे मात्र गर्ने निर्माण कम्पनीको जिम्मा थियो।

ठेक्का लिएको साढे तीन वर्षभन्दा धेरै हुँदा पनि ५० प्रतिशत मात्र भौतिक प्रगति भएको छ। करिब ४४ प्रतिशत बजेट खर्च भएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ। यो सडकका लागि यसअघि कोभिडका कारण काम नसकिएको भन्दै दुईपटक म्याद थप भइसकेको छ । दोस्रोपटक थपिएको म्याद पनि आउँदो चैतमा सकिँदैछ।

निर्माण कम्पनीका सञ्चालकलाई बारम्बार सडक निर्माणका लागि दबाब दिँदा पनि का मगर्न नसकेको सडक डिभिजन कार्यालय दमकका प्रमुख रमेश पौडेलले जानकारी दिए। गत बर्खाबाट सडक निर्माणको काम पूणर्रूपमा ठप्प भएको उनले बताए। ‘काम अघि बढ्न नसकेपछि हामीले निर्माण कम्पनीलाई का मगर्न दबाब दिइरहेका छौँ,’ उनले भने, ‘निर्माण कम्पनीले आफूले नसक्ने भएपछि पेटी ठेक्का दिने तयारी गरेको जानकारी पाएको छु।’

महालक्ष्मी-किरातेश्वर जेभीले का मगर्न नसकेपछि पेटी ठेक्का लुम्बिनी गणपति जेभीलाई दिने गरी छलफल अघि बढिरहेको छ। लुम्बिनी-गणपतिले दमक-चिसापानीको दोस्रो र तेस्रो खण्डको २६ किलोमिटर सडक निर्माण गरिरहेको छ। तल्लो खण्डको सडक निर्माण अलपत्र हुँदा सामग्री लैजानसमेत मुस्लि भएको भन्दै लुम्बीनी गणपतिले पेटी ठेक्का लिने तयारी गरेको हो।

‘पेटी ठेक्का लिनका लागि छलफल भइरहेको छ। टुंगिएको छैन। केही नमिलेका विषय पनि छन्,’ लुम्बिनी-गणपतिका सञ्चालक तुलसीराम भण्डारीले भने, ‘त्यहाँ केही समस्या छन्। पहिलाको ठेकेदारले मोबिलाइजेसन चलाएको दुई करोड दिन सक्ने अवस्था छैन। त्यसले गर्दा त्यसको निकास निस्किएको छैन।’

दमक-चिसापानी सडक निर्माण उपभोक्ता समिति अध्यक्ष रेतवराज पुरीले भने दोस्रोपटक थपिएको समयमा काम सकिने बताए। ‘पहिलो खण्ड पनि माथिल्लो ठेकेदारले काम गर्ने गरी तयारी हुँदैछ। सायद सोमबार साँझसम्म सम्झौता हुन्छ होला,’ उनले भने, ‘तलदेखि माथिसम्म नै साउनसम्म सबै कालोपत्रे नै भइसक्छ।’

प्रकाशित मिति: : 2022-01-10 15:02:00

प्रतिकृया दिनुहोस्