नेपाल गोज काई कराँते डो संघको आयोजनामा खुला राष्ट्रिय कराँते प्रतियोगिता काठमाडौंमा सुरु भएको छ। दुई दिने प्रतियोगिताको पहिलो दिन सोमबार पुरुषतर्फ ५ र महिलातर्फ २ स्वर्णको छिनोफानो भएको छ। बाँकी स्पर्धाको फाइनल खेल मंगलबार हुनेछ।
प्रतियोगितामा महिला र पुरुषको १०र१० तौलसमूहमा प्रतिस्पर्धा हुनेछ। २० जिल्ला तथा डोजोहरूबाट २ सय ९ खेलाडीको सहभागिता रहेको यो प्रतियोगितामा ३० केजीमुनि, ३५ केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनि, ५५ केजीमुनि, ६० केजीमुनि र ६० केजीमाथि खुल्ला तौलसमूहमा प्रतिस्पर्धा हुनेछ।
कातातर्फ पुरुष र महिला टिम प्रतिस्पर्धा हुनेछ। यसपल्ट भेट्रान्स प्रतियोगिता पनि समावेश गरिएको छ। शारीरिक रूपमा फिट रहेका ४० वर्ष नाघेका खेलाडीहरूका लागि यो विधा थपिएको प्रतियोगिता संयोजक अच्युतराज उप्रेतीले जानकारी दिए।
चाबहिल चुच्चेपाटीस्थित स्मार्ट प्यालेसमा आयोजित प्रतियोगितामा सोमबार पुरुषतर्फ ३० केजीमुनि तौलसमूहमा आयुश राई (आनन्दनगर डोजों)ले स्वर्ण जिते। उनले फाइनलमा सोनाम तामाङ (मित्रपार्क डोजो)लाई पराजित गरेका हुन्। ३५ केजीमुनि अविजित पहारी (नागार्जुन डोजो)लाई हराएर अनायन मानन्धर (ठैब डोजो)ले स्वर्ण जिते।
४० केजीमुनिमा रोजन तामाङ (शंखडोल एकेडेमी)ले स्वर्ण जित्दा अन्मेष थेबे (मित्रपार्क डोजो) रजतमा सीमित भए। ४५ केजीमा विकेश मोक्तान (जोरपाटी डोजो)ले स्वर्ण जिते। उनले फाइनलमा सुनिल ठगुन्ना (साउथ भ्याली स्कुल)लाई हराए। ५० केजीमा विनोद श्रेष्ठ (मानसिंह डोजो) स्वर्ण तथा मिलन तामाङ (नेपाल हायसी–हा कराँते)ले रजतमा चित्त बुझाए।
महिलातर्फ ३० केजीमा अनु मोक्तान (मानसिंह डोजो)ले स्वर्ण जित्दा बिलासा पहारी (नागार्जुन डोजो)रजतमा सीमित भइन्। ३५ केजीमा अस्मिता मोक्तान (आनन्दनगर डोजो)ले स्वर्ण र कुन्साङ राई (मित्रपार्क डोजो)ले कांस्य जितिन्।
यसअघि प्रतियोगिताको उद्घाटन महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शुद्धकुमार डंगोलले उद्घाटन गरेका थिए। वर्ल्ड युनाइटेड मार्सल आर्ट (वुमा) अन्तर्गत रहेको गोजु काई कराँतेको वार्षिक कार्यक्रमअन्तर्गत आयोजित प्रतियोगितालाई काठमाडौं महानगरपालिकाले प्रायोजन गरेको हो। उनले राष्ट्रिय स्तरमा व्यवस्थित प्रतियोगिता आयोजना गरेकोमा संघलाई धन्यवादसमेत दिएका थिए।
२०५८ सालमा राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको यो संघले हरेक वर्ष दुईदेखि तीन वटासम्म राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ। यो प्रतियोगिताका लागि काठमाडौं महानगरपालिकाले १० लाख रुपैयाँ प्रायोजन गरेको छ।
‘कराँतेको एउटा विधा गोजु काईका खेलाडीले अन्तर्राष्ट्रियस्तरमा पनि उच्चस्तरको सफलता हासिल गरिसकेका छन्। सन् २०१३ मा आयोजित विश्व च्याम्पियनसिपमा नेपालका निश्चल गुरुङले स्वर्ण जितेका थिए। एसियन प्यासेफिक च्याम्पियनसिप लगायतका अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पदक जितिसकेको छ। नेपालले जापानमा हुने आसन्न विश्व च्याम्पियनसिप र ताइवानमा हुने एसियन प्यासेफिक च्याम्पियनसिपमा पनि सहभागिता जनाउँदै छ।