प्रदेश २ को राजधानी टुंगो लगाउन मतदान सुरु 

प्रदेश २ को स्थायी राजधानी निर्धारण गर्ने विषयमा टुंगो लगाउन प्रदेशसभामा मतदान सुरु भएको छ।

राजधानीका विषयमा एउटै प्रस्तावमा दल तथा प्रदेशसभा सदस्यहरूबीच एक मत हुन नसकेपछि पूर्वनिर्धारित कार्यसूचिअनुसार पहिले राजधानीका नाममा मतदान हुने भएको हो।

प्रदेश २ को नाम र राजधानी तय गर्न सभामुख सरोजकुमार यादवको सभापतित्वमा गठित अध्ययन विशेष समितिले राजधानीका विषयमा प्रस्तुत छ वटा प्रस्तावका बारेमा प्रस्तावक र समर्थकहरूसँग छलफल गरी तीनवटा प्रस्ताव प्रदेशसभामा पेस गरेको थियो। जसमा छलफल टुंगिएको छ।

प्रदेशसभा सदस्य परमेश्वर साह, रवीन्द्र बैठा, उपेन्द्रप्रसाद कुशवाहा, शारदा देवी र भरतप्रसाद साहले प्रस्ताव गरेका राजधानी जनकपुरधाम (उत्तरमा धनुषा जिल्लाको ढल्केवर र पूर्वपश्चिम राजमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा), सिंगासन साह कलवारको वीरगन्ज (पोखरिया नपा, सखुवा प्रसौनी गापा, पर्सागढी नपा, जितपुर सिमरा निजगढ हुँदै सिम्रौनगढ) र राजेश्वरप्रसाद साहकोे वीरगञ्ज (वीरगन्ज महानगरपालिका) तोक्ने प्रस्तावमा मतदान भइरहेको छ।

प्रकाशित मिति: : 2022-01-17 14:43:00

प्रतिकृया दिनुहोस्