‘शंकर पोखरेलले पारिदिएको बजेट आफ्नै जिल्लाका मुख्यमन्त्री केसीले काटिदिए’

नयाँ सडक खन्ने क्रममा सिँचाई कुलो पूर्णरुपमा क्षति भएपछि रोल्पा नगरपालिका–५ बाजबाङका किसानहरुलाई सिँचाईमा समस्या भएको छ।

किमीचौर–माडीचौर सडकको ट्रयाक खोल्ने क्रममा माडीखोलाबाट बाजाबाङ गाउँमा जाने ३ वटा सिँचाई कुलोमा क्षति पुगेको छ। सडकले क्षति पुर्‍याएको ओडार्ने सिँचाई कुलो, सेसिघाट सिँचाई कुलो र धाङकुना सिँचाई कुलो वर्षाैदेखि बन्द अवस्थामा रहेका छन्।

सिँचाई कुलो पुनःनिर्माण हुन नसक्दा यहाँको झण्डै १५ हेक्टर जमिनमा सिँचाई समस्या रहको किसानहरुको गुनासो छ। सबैभन्दा माथिल्लो भागमा रहेको धाङकुना सिँचाई आयोजना निर्माणका लागि प्रदेश सरकारको बजेटमा समावेश भएपनि पछिल्लो सरकारले गरेको बजेट संशोधनमा काटिएको थियो।

‘तत्कालिन शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारको पालामा ४० लाख बजेट परेको थियो,’ स्थानीय गंगाराम रावतले भने, ‘तर कुलप्रसाद केसी नेतृत्वको सरकार फेरिएसँगै बजेट संशोधनका क्रममा उक्त बजेट काटियो हजुर।’

‘हामीले अन्य कुनै पेसा गर्दैनौं। अब बालबच्चा के खुवाएर पाल्ने, समस्यामा परियो हजुर,’ रावतले पीडा सुनाए।

प्रदेश सरकार परिवर्तन भएर रोल्पाले नै मुख्यमन्त्री पायो तर आफूहरु अन्यायमा परेको अर्का स्थानीय टेकबहादुर महराले गुनासो गरे। ‘हामीले मुख्यमन्त्रीलाई नै भेटेर भन्यौं, विभागीय मन्त्रीलाई पनि ज्ञापन पत्र बुझाइयो,’ महराले भने, ‘तर कतैबाट सुनुवाई भएको छैन।’

सिँचाई आयोजना निर्माणका लागि पहल भइरहेको जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय रोल्पाका प्रमुख भेषराज भुसालले बताए।

‘सडकको नयाँ ट्रयाक खन्दा सम्बन्धित निकायले ध्यान नदिँदा जिल्लाका अधिकांश ठाउँमा सिँचाई आयोजनामा क्षति पुगेको छ,’ भुसालले भने, ‘गत वर्ष हामीले उक्त आयोजनाको लागि प्रदेश सरकारमा सिफारिस गरेका थियौं।’

बजेटमा समावेश भएपनि संशोधनका क्रममा काटिएकोले आयोजना निर्माणमा समस्या भएको सिँचाई कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2022-01-18 16:20:00

प्रतिकृया दिनुहोस्