सिटामोलको कृत्रिम अभाव, उपभोक्तालाई सास्ती

दिनेश गौतम, अजवी पौड्याल/रीता थापा/ काठमाडौं, शिवराज भट्ट/ धनगढी, किशोर बुढाथोकी/विराटनगर, केशवशरण लामिछाने / पोखरा, ललितबहादुर बुढा / सुर्खेत, कृष्ण सारू मगर / हेटौंडा, शंकरप्रसाद खनाल /  नेपालगन्ज,भरत खड्का / उदयपुर, अनिल ढकाल / चितवन, सन्तोष ढुंगेल / रामेछाप :


सिटामोल अत्यावश्यक औषधिमा सूचीकृत छ। सरकारले स्वास्थ्य संस्थामा निःशुल्क वितरण गर्ने औषधिको सूचीमा दोस्रो नम्बरमा छ। तर, उपभोक्ताले केही दिनयता यो औषधि बजारमा पाउन सकेका छैनन्। 

वरिष्ठ नशा रोग विशेषज्ञ प्रा.डा. जगदीश अग्रवालले धेरै औषधि पसल चाहर्दा पनि पाएनन्। त्यसको विकल्पमा अर्को औषधि खरिद गरे। एमाले सांसद शान्ता चौधरीले पनि सिटामोल पाइनन्। उनले यसबारे बिहीबार सामाजिक सञ्जालमा लेखेर असन्तुष्टि जनाइन्। 

औषधि उत्पादक र व्यवसायीबीचको साँठगाँठले सिटामोलको कृत्रिम अभाव गराइएको उपभोक्ताकर्मीको दाबी छ। ‘पारासिटामोलको कृत्रिम अभाव गराइएको छ। सरकारलाई अप्ठेरो पार्न र उपभोक्ताको घाँटी अठ्याउन अपराधजन्य प्रपञ्च गरिएको छ’, उपभोक्ता हित संरक्षण मञ्चका उपमहासचिव अधिवक्ता विष्णु तिमिल्सेनाले भने, ‘विदेशबाट आयात गर्न नदिने र कृत्रिम अभाव सिर्जना गरेर मूल्यवृद्धि गर्न खोजिएको छ।’ पारासिटामोल उत्पादन निरन्तर रहेको नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले बताए। भने, ‘स्वदेशमै २०–२२ वटा उद्योगले उत्पादन गरेका पारासिटामोल बजारमा छन्। नियमित उत्पादन गरी बजारमा पठाइरहेका छौं।’

नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठका अनुसार एक साताअघि अभाव थिएन। ‘एक–दुई दिनयता ओमिक्रोनको संक्रमण ह्वात्तै बढ्यो’, अध्यक्ष श्रेष्ठले भने, ‘संक्रमण हुँदा ज्वरो आउने भएकाले उपभोक्ताले आवश्यकताभन्दा बढी खरिद गरे। माग बढी भयो। आपूर्ति कम भयो।’ सरकारले ओमिक्रोन संक्रमितको छुट्टै संख्या सार्वजनिक गरेको छैन। तर, पछिल्लो संक्रमणदर वृद्धि हुनुमा ओमिक्रोन नै कारक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमितमा ज्वरो आउने र जीउ दुख्नेलगायत लक्षण देखिएका छन्। औषधि उत्पादक संघका अध्यक्ष पाण्डेका अनुसार व्यवसायीले पारासिटामोल उत्पादन गरिरहे पनि उपभोक्ताले बढी मात्रामा खरिद गर्दा नै अभाव भएको हो। 

प्रकाशित मिति: : 2022-01-21 07:57:00

प्रतिकृया दिनुहोस्