‘हाइपर फन्ड’ नेटवर्किङको अर्को धन्दा

अन्नपूर्ण पोष्ट

तुलसी सुवेदी

कुनै समय हर्बो, युनिटीलगायतका नेटवर्किङ व्यवसायबाट धेरै जना ठगिए। कतिपयको त घरबास नै उठ्यो। लाखौं सर्वसाधारण ठगीमा परेपछि मात्रै सरकारले सञ्चालकलाई कारबाही गर्‍यो। तर, अझै पनि सर्वसाधारणको लगानी भने उठ्न सकेको छैन। अहिले त्यस्तै प्रकृतिको ‘हाइपर फन्ड’ देखा परेको छ। डिसेम्बरदेखि ‘हाइपर भर्स’को रूपमा रूपान्तरण भएको छ। कुरै नबुझी सर्वसाधारण ‘हाइपर भर्स’ मा लगानी गरिरहेका छन्। यो फन्डमा भएको अन्धाधुन्ध लगानीले पनि मुलुकमा आर्थिक संकट निम्तिएको जानकारहरू आशंका व्यक्त गर्छन्। 

के हो हाइपर फन्ड ?
हाइपर भर्स अनलाइन नेटवर्किङ बिजेनस हो। यसले वस्तु तथा सेवाको बिक्री भने गर्र्दैन। तेब्बर कमाइ हुने आश्वासन देखाएर सर्वसाधारणबाट पैसा हाल्न लगाइन्छ। हाइपर फन्ड क्रिप्टो करेन्सीजस्तै अनलाइन बिजनेस हो। परिवर्तनीय (कन्भर्टिकल) बन्ड  बिक्री गरेर कुनै पनि व्यक्तिलाई सदस्य बनाउने गरिन्छ। एप डाउनलोड गरेर एकाउन्ट क्रेट गर्नुपर्छ। एकाउन्ट बनाएपछि ३ सय हेजयु (३ सय अमेरिकी डलरबराबर ३९ हजार नेपाली रुपैयाँ) लगानी गर्नुपर्छ। 

हाइपर फन्ड गैरकानुनी बिजनेस हो। नेपालसहित कुनै पनि देशले यसलाई अनुमति दिएका छैनन्। तैपनि नेपालका कुनाकाप्चादेखि विश्वासका धेरैजसो  देशमा हाइपर फन्डको चर्चा चुलिएको छ। पोर्चुगलमा बस्ने हाइपर भर्सका टिम लिडर योगेन्द्रकुमार छन्त्यालले कम्युनिटी बनाएर असीमित पैसा कमाउन सकिने बताउँछन्। 

त्यो बन्ड किनेबापत कुनै पनि व्यक्तिले १ सय ८० प्रतिशत प्रतिफलसहित फिर्ता गर्ने प्रतिबद्धता गरिन्छ। सुरुसुरुमा लगानी गर्नेले केही प्रतिफल चाखेजस्तो भए पनि हाइपर भर्सबाट ठगिने सम्भावना प्रबल देखिन्छ। यसले कुन क्षेत्रमा लगानी गर्छ र लगानीकर्तालाई प्रतिफल दिन्छ भन्ने खुलाइएको छैन। नयाँ व्यक्ति सदस्य बनाएर पुरानालाई प्रतिफल दिएजस्तो गर्ने र धेरै सहभागी भएपछि सर्वसाधारण ठग्ने नियत देखिन्छ। यसमा जति बढी संलग्न हुन्छन्, उति फस्ने, लगानी डुब्ने खतरा हुन्छ। 

हाइपर फन्ड (भर्स) लगानीसम्बन्धी कुनै एउटा कम्पनीले विकास गरेको प्रच्छन्न मुद्रा (क्रप्टो करेन्सी) हो। तर यो कतै दर्ता छैन। यो कसैको नियमनको दायरामा पनि छैन। नाम मात्रको कम्पनी रहेको हुन सक्ने आशंका गरिएको छ। तर हाइपर फन्ड (भर्स)ले विकेन्द्रित वित्तीय पर्यावरण विकास गरेको दाबी गरेको छ। क्रिप्टो करेन्सीका रूपमा व्यापक कारोबार गर्ने उपयुक्त मैदान बनेको टिम लिडर छन्त्याल बताउँछन्। 

प्रकाशित मिति: : 2022-01-22 08:57:00

प्रतिकृया दिनुहोस्