३० वर्षे महिलामाथि सामूहिक बलात्कार, अत्याधिक रक्तश्रावले अवस्था चिन्ताजनक

File Photo
File Photo

मोरङको बलियामा एक महिलामाथि सामूहिक बलात्कार भएको छ। 

बेलबारी नगरपालिका–४ की ३० वर्षीया महिला बलात्कार भएको प्रहरीले जनाएको छ। उनको अवस्था गम्भीर छ। अहिले विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको परिवारका सदस्यले बताएका छन्।

सुन्दरहरैँचा नगरपालिका–४ बलियास्थित श्रेष्ठ होटल एन्ड फेमीली लजको एउटा कोठामा बन्धक बनाएर महिलामाथि तीन जनाले शुक्रबार राति सामूहिक बलात्कार गरेको मोरङ प्रहरीका प्रवक्ता डिएपसी मञ्जील मुकारुङले जानकारी दिएका छन्। 

मुकारुङका अनुसार होटल सञ्चालक सुन्दरहरैँचा–४ का ३६ वर्षीय अर्जुन श्रेष्ठ, उनका भाइ २७ वर्षीय मनोज श्रेष्ठ र झापा घर बताउने रामबहादुर नेपालीले होटलमा राखेर रातभर सामूहिक बलात्कार गर्दा महिलाको अवस्था चिन्ताजनक बनेको हो।

अत्याधिक रक्तश्राव भएका कारण महिलाको अवस्था निक्कै गम्भीर बनेर गएको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। 

चिकित्सकका अनुसार बलात्कार गरेर उनको यौनाङ्ग क्षतिविक्षत बनाइएको छ। ति महिलाले शुक्रबारदेखि नै सुनसरीको इटहरीस्थित एउटा घरमा काम गर्न थालेकी थिइन्। काम सकेर सुन्दरहरैँचाकै गछियास्थित बहिनीको घरमा फर्कदै गरेको अवस्थामा उनलाई बलात्कारमा संलग्नमध्ये रामबहादुरले शुक्रबार साँझ ६ बजेतिर गाडीमा राखेर गछियाबाट लगेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार इटहरीबाट गाडीमा आएर गछियामा ओर्लिएपछि उनले बहिनीको घरको लोकेसन अर्को गाडीमा रहेका रामबहादुरलाई सोधिन्। बहिनीको घर पुर्याइदिन्छु भन्दै गाडीमा राखेर होटलमा लगेको पाइएको डिएसपी मुकारुङले बताए। घटनापछि रामबहादुर फरार छन्। प्रहरीले उनको नाम रामबहादुर नेपाली हो कि हैन भनेर यकिन हुन भने बाँकी रहेको जनाएको छ।

उनीसँगै बलात्कारमा संलग्न मनोज पनि फरार थिए। उनलाई भने प्रहरीले शनिबार साँझ पक्राउ गरिसकेको छ। बलात्कार पीडित महिलालाई उपचारका लागि कोसी अस्पताल लिएर आएका होटल सञ्चालक अर्जुनलाई प्रहरीले शनिबार दिउँसो विराटनगरबाटै पक्राउ गरेको थियो। 

प्रहरीका अनुसार अत्यधिक रक्तश्राव भएकी महिलाको यौनाङ्ग क्षतिविक्षत हुनुका साथै शरीरभरि नीलडाम र चोटपटक छ। डिएसपी मुकारुङले प्रतिकार गर्न थालेपछि महिलालाई यातना दिने र कुटपिट गर्ने कामसमेत भएको बताए। 

प्रहरीले अर्जुनको होटलमा काम गर्ने आरती श्रेष्ठ नाम गरेकी युवतीलाई पनि नियन्त्रणमा लिएको छ। डिएसपी मुकारुङका अनुसार सामूहिक बलात्कार भएको घटना प्रत्यक्ष देखेकी युवतीले पीडित महिलाले चिच्याएर हारगुहार गर्दा पनि प्रहरीलाई खबर नगरेको पाइएपछि उनलाई समेत पक्राउ गरिएको छ।

प्रकाशित मिति: : 2022-01-23 11:03:00

प्रतिकृया दिनुहोस्