जसपा–जनमत पार्टीबीच तिक्तता बढ्दै

नागरिक दैनिक

मिथिलेश यादव

माघ ५ गते मधेस प्रदेशको रौतहट जिल्लामा मधेस बलिदानी दिवस कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेतृ एवं भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव प्रमुख वक्ता थिइन्। कार्यक्रम सम्बोधन गर्न जानेक्रममा यादवलाई सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले लाठीसहित आक्रमण गर्न खोज्दा सुरक्षाकर्मीले हस्तक्षेप गरी जोगाएका थिए।  

मन्त्री यादवले सिके राउतलाई सचेत गराउँदै दिएको प्रतिक्रिया अहिले विवादित बनेको छ। उनले भनेकी छिन्, ‘लाठी देखाएर डराउने प्रयास गर्नेले लाठी भाँच्न पोख्तको ताकतलाई नजरअन्दाज नगरोस्। यो रौतहटको गौर मधेस विद्रोहको किल्ला हो,’ उनले भनेकी छिन्, ‘यहाँको राइसमिल गौर नरसंहारको साक्षी छ । तुफानसँग टकराउन खोज्यौं भने राइस मिलमा जे भएको थियो त्यही हालत हुन्छ।’ मन्त्री यादवले भाषणमा पटकपटक राइस मिलको घटना दोहोर्‍याउने धम्की दिइन्। उनले सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तालाई मधेसमा फट्टा प्रदर्शन नगर्न पटकपटक चेनावनी दिइन्।

मन्त्री यादवले उल्लेख गरेको राइस मिलमा ०६३ चैत ७ गते तत्कालीन नेकपा (माओवादी) का २८ जना कार्यकर्ताको निर्ममतापूर्वक हत्या भएको थियो। २७ जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा ज्यान गएको थियो। मन्त्री यादवले सत्ताको दम्भमा किसानमाथि दमन गर्न खोजेको जनमत पार्टीका अध्यक्ष सिके राउतले जिकिर गरेका छन्। सत्ताको दम्भमा किसान आन्दोलनलाई दमन गर्ने नाममा नरसंहार मच्चाउन प्रपञ्च भैरहेको उनको भनाइ छ। मन्त्री जस्तो व्यक्तिले हिंसा भड्काउने गरी अभिव्यक्ति दिएकोप्रति मधेस प्रदेशसभाका सदस्यहरूले समेत अपत्ति जनाएका छन्।  

यसैबीच, जसपा नेपालका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले विज्ञप्ति निकाल्दै बलिदानी दिवसको कार्यक्रमलाई अवरोध गरेर जनमत पार्टीले उदण्डता प्रदर्शन गरेको जनाएको छ। जनता समाजवादी पार्टीको कार्यक्रम र यसका कुनै नेता कार्यकर्ताविरुद्ध लक्षित यस्ता आपराधिक कार्य अब उपरान्त नगर्न अधिकारीले विज्ञप्तिमार्फत जनमतलाई सचेत गराएको छ।  

प्रकाशित मिति: : 2022-01-23 08:51:00

प्रतिकृया दिनुहोस्