फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण चैत अन्तिम सातादेखि सुरु हुने भएको छ। नेपाल स्पोट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा एनएसएलको पहिलो संस्करण जेठमा सम्पन्न भएको थियो।
पोखरा र काठमाडौं गरी दुई सहरमा हुने प्रतियोगिता २८ चैतमा सुरु भई ७ जेठसम्म चल्ने छ भने तीन नयाँ टोली थपिने भएका छन्। यसअघि पहिलो संस्करणमा ७ टोलीको सहभागिता थियो।
प्रतियोगिताको सुरुवात पोखरामा हुने र प्रतियोगिताको दोस्रो चरण काठमाडौंमा हुने आयोजकले जानकारी दिएको छ। कोभिड १९ को अवस्थाअनुसार तय भएको योजनामा फेरबदल हुन सक्ने र खेल एउटै शहरमा आयोजना गर्न सकिने पनि आयोजकले बताएको छ।
आगामी संस्करणबाट थपिने तीन टोलीका लागि फेब्रुअरीमा अक्सन गर्ने आयोजकले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।
यसअघि पहिलो संस्करणमा धनगढी एफसीलाई १-० ले पराजित गर्दै काठमाडौं रेजर्सले उपाधि जितेको थियो।