पुष्पलालको प्रेरणाले डोर्‍याउने गरेको मेरो अध्ययन दिशा

सन्दर्भ त्यो बेला को हो, जब काठमाडाैँको सडक र खीचापुखुको मोडमा राणाजीहरूको फोटो लिने र चित्र बनाउने आकर्षक भवनलाई नविकरण गरी झकिझकाउ बनाएर अमेरिकन लाइब्रेरी उद्घाटन गरियो।

हामी साम्यबाद संस्कृत उन्मूख विद्यार्थी कार्यकर्ताहरूमा अमेरिकी प्रभाव नेपालमा बढ्ने भो र निष्प्रवाह हुने भयो कि भनी हामी निरासामा रहेको कुरा सुन्नुभएछ पुष्पलाल जीले। एक दिन क्लास लिन भनी इटुंबहालको किसान नेता सान्दाईको घरसंग जोडिएको सान्दाईको भाइको घरको मटानमा बोलाउनुभो। विषय थियो, अध्ययन के र कसरी?

हामी थुप्रै पुगेका थियौं। चन्द्रानन्द नेवा, उहाँको भाइ, रामेस्वर प्रधान, भरत जोशी, प्रचण्ड प्रधान, बासुदेव ढुंगाना, आनन्ददेव भट्ट, सायद चन्द्रधर उप्रेती पनि र अरू धेरै। पुष्पलाल जीले यस्तो निराश र समस्याबाट विमुख भयो कि भनेर चिन्ता लिनु राम्रै हो। तर चिन्तालाई चिरेर आफ्नो उद्देश्य र गन्तव्यतिर अविचलित ढाल्दै, बढ्दै जानु कम्युनिष्ट स्पिरिट हो। निराश भई निष्कृय भएर बाटो छाडी बिलाउने प्रवृत्ति कम्युनिष्ट चरित्र हुनुहुन्न।

यत्तिकैमा मलाई भन्नुभयाे, ‘मथुरा, तिमी बन्दीपुरको सतिघाट जाँदा जंगलमा हराउँदाको अनुभव हामी सबलाई सुनाउ त?’ म झसंग भएँ, यो अनपेक्षित आदेशमा। कसरी थाहा पाउनुभएछ पुष्पलाल जीले त्यो घटना, जुन मैले पनि बिर्से जस्तो लागेकाे थियो। तर सम्झँदै कनिकुठी र नर्भस हुँदै भनेँ, ‘म गाउँकै अति सम्पन्न, सामन्त परिवारको केटा हुँ।’   तर लगान बाली उठाउन मेरो क्षमता पनि थिएन, रुचि पनि थिएन। ‘धेबा बाग मवंम्ह, दुकुलन्ठु जक्क ख थो। छुंय ज्या मवनिम मचा जुला थ्व।’ (फुट्या कौडी जत्ति पनि काम नलाग्ने, दुकुलन्थु भयो यो। कुनै काम दिने देखिन्न यसले।) भनी खिसी गर्थे। 

त्यस्तो गालीले मभन्दा मेरो आमा र बाजे, लाल गोविन्द पिया, मर्माहत हुनु हुने रहेछ। बाजेले ‘केही गर्नु पर्दैन। सबै मोहीले छुट्याउँछ। हाम्रो भाग पनि उनीहरूले नै ल्याइदिन्छ। साक्षी जस्तै बस्ने मात्र हो’  भनी सम्झाएर घरको रिसल्ला घोडा चढाई सतिघाटको खेतमा पठाउनुभो। एक्लै जाँदा ठिकै पुगेँ। मोहीहरूले खुब स्वागत गरे, कालोपोथी काटी भात खुवाएर सम्मान गरे। परालको एक कप्टेरा बनाइ मलाई सुताए र मोहीहरू अर्कै कप्टेरामा सुते खेतमै।

भोलिपल्ट बिहान दाइँ गरी हाम्रो भाग खरानीले घेरा हाली छुट्याए। त्यसबेला मलाई ज्वरो आएकोले म फर्कन्छु भनेँ। छामेर, ‘ओ हो! ज्वरो धेरे आएको रहेछ’ भनी मलाई घोडामा चढाइदिए। बाटोमा खस्ला भनेर कपडाले काखीमा बाँधिदिए। ‘खस्न लागे घोडाको जेगर बलियो गरी समाउनु नछाड्नु’ भनी सिकाएर एक्लै फर्काइदिनुभो। घना जंगलकाे बाटो पार गर्नुपर्थ्यो। जाँदाजाँदा बिचमा दुई बाटो भेट्टियो। बढी चौडाको बाटो सहि होला भनी लगाम उतैतिर लगाएँ, घोडा पनि मानेर उतै गयाे। तर पछि बाटो कानो भयो। तैपनि बाटो भेट्टिएला भनी जंगलतिरै घोडा अघि बढाएँ, बाटाे भेट्टिएन। डर लाग्यो बाघ, भालुले खाला भनी। तर त्यसबेला कुनै चरा, काग पनि कराएको थिएन।

पछि भएन भनी फर्केर त्यही दोबाटोमा आइपुगेँ। मैले लगामले निर्देशन नगर्ने बरू गामबेसी गरेको घोडाले नै बाटो पहिलाउला भनी विस्वास साथ लगाम छाडेर घोडालाई  हिंड्न लगाएँ, आफ्नै तजवीजले। बाटोमा घाँसदाउरा बोकी आउनेहरूले बीचबीचमा ‘बन्दीपुरे साहुको छोरा रहेछ, बिमार छ जस्तो छ’ भनी नजिस्काई रहेको भए घोडाबाट पनि खसिन्थ्यो होला। घर पुग्दा राति भइसकेको थियो। घोडा आवाज सुनेर कदम दाइ (जेठाबाको छोरा र मेरो महत्वपूर्ण राजनैतिक गुरू) आएर मलाई बोकेर कोठामा लगी जडिबुटी खुवाए। म दुईदिन पछि निको भएँ।

मेरो यही कुरामा पुष्पलाल जीले सामान्य छलफल चलाएर आफ्नो कुरा राख्नुभो-

‘सामन्ती संस्कारले मथुरा जीवन, जगत र प्रकृतिसंग जुधेर वा द्वन्द्व गर्दै र खेली सिक्ने अवसरबाट टाढा हुन गएकोले बाटो हराएको हुनुपर्छ। किसानको छोरा भएको भए हराउन्नथ्यो होला। बरू पसु भए पनि प्रकृतिसंग गामबेसी गर्ने घोडाले सिके। जे भए पनि बाटो हराएर आफैँ पनि बिलाउन अवस्थाबाट घोडाको सहायताले पहिलाएर सुरक्षित हुने बिन्दु नै सिक्ने कलाको महत्वपूर्ण प्रस्थान बिन्दु हो’ भन्दै आफ्नो लेक्चर सुरु गर्नुभो।

अहिलेको सन्दर्भमा म चार कुरा भन्छु:

१. अमेरिकी पुस्तकालयको झकिझकाउ वा कुनै शक्तिबाट तर्सिने हामी कम्युनिष्टहरू हुनुहुन्न। सिक्ने कुरामा शत्रुबाट पनि सिक्नुपर्ने हुन्छ। शत्रु नै भने पनि उसको कुरा नसुनी, नबुझी र सिंगो पांगो उसलाई देख्न बुझ्न नसकी कसरी विवाद, सामना र प्रतिकार गर्न सकिन्छ? त्यस लाइब्रेरीमा छाती खाेलेर उपलब्ध किताबहरू पढ्नुहोस्। राम्रो कुरा छ भने ग्रहण पनि गर्ने हो। नराम्रा, झुठा र हानिकारक सामग्री भए यो-यो कारणले यो ठिक छैन भनी  तिरस्कार गर्न सक्नुपर्छ। हाम्रा तार्किक क्षमताको लागि पनि यसो गर्नु जरूरी हुन्छ।

२. सिक्ने भनेको महापण्डित, दार्शनिक वा हाम्रै मार्क्स, एन्जेल्स, लेनिन आदिबाट मात्र होइन, एक पटमूर्ख वा समाजमा निकम्मा भनिएकाहरूबाट पनि सिक्न सकिने छ भने सिक्नुपर्छ। साधारण नेपाली जनता जतिसुकै अबुझ या चेत नभएको भनी प्रचार गरिए तापनि जनता त हाम्रा गुरूमा, महागुरु सम्झी उनीहरूबाट सिक्न सक्नुपर्छ, हामी कम्युनिष्टहरुले। किनभने जनता हाम्रा सबै इतिहास, कला, संस्कृति, समाजदर्शन, परम्परा सबैका भरपर्दो खानी हो, श्रोत पनि हो।

जनता माझ भिजी, बितेको जमानाका स्मृतिपत खोतल्न सके धेरै सिक्ने र जान्नै पर्ने ज्ञान भण्डार हुन्छ जनसागरमा। तर खोतल्न सजिलो खेल होइन। जनतासंग भिज्न सक्नेले मात्र केही खोतल्न सक्छ। जस्तो सुकै गाह्राेसाह्रो र असहज परिस्थितिसंग पनि जुधेर सिक्नुपर्छ, हामी कम्युनिष्टहरू। कहिलेकाहीँ केही जटिल समस्याका समाधान निस्केन भने सो प्रश्न लिएर जनता माझ गएर संगै अध्ययन गरे पाइन सक्छ।

३. सिक्ने भनेको बुद्धकालदेखि चली आएको सुनेर, पढेर, सत्संगत गरी जान्ने र जान्न खोज्ने मात्र होइन। त्यसलाई मन, विवेकदेखि व्यवहारको कसीमा उतारी सर्वपक्षीय विवेचना र विश्लेषण गरी आत्मसात गरेपछि पनि व्यवहारमा खोज अनुसन्धान गरेर भोग गरी, ठिक/बेठिक र ग्राह्य गर्न सक्ने/नसक्ने कसीमा उतारेर मात्र ग्रहण गर्नु राम्रो हुन्छ। नत्र हामी कागले कान लग्यो भन्ने सुनेर कागको पछाडि भागिरहने मात्र हुन्छौं।

४. अर्को कुरा अध्ययन केही भाग, पक्ष वा बिषयमा बन्दी बनी टुक्रे वस्ताद बन्ने होइन। सकेसम्म सर्वपक्षीय र समग्रतामा अध्ययन गर्नुपर्छ। अबेला भैसकेकोले म यसबारे एक उदाहरण मात्र दिन चाहन्छु, माओत्सेतुङको। माओ जब संघाईमा आए, उसलाई एउटा प्रश्नले पिरल्यो। चीन त्यति शक्तिशाली, संस्कृति, इतिहास र दर्शनसहित व्यापार आदिमा त्यस्तो कर्मठ र सम्पन्न देशलाई ती फासीबादी, उपनिवेशबादी र साम्राज्यबादी देशहरूले कसरी छिन्नभिन्न पारिरहन सकेर देशकै अस्तित्व खतरामा पुर्याउन लाग्यो? भनी जवाफ खोज्न एउटा लाइब्रेरीको पाले जागिर खाएर पनि त्यहाँ भएको भएभर किताबहरू गहिरो अध्ययन गर्न भ्याए।

उत्तर समग्रमा आएन भनी संघाईको प्रसिद्ध प्रोफेसरसंग अन्तरकृया गरी उत्तर खोजे। प्रोफेसरको छोरीसंग पनि विवाह गरे। (लंग मार्चको दौरान कोमिन्टांग फौजले समाती फासीको सजाय दिएको थियो माओ पत्नीलाई)। समग्र ज्ञान प्राप्त गर्न सिंक्यान्सानको अनकन्टार टुप्पोमा बसेर ४ बर्षसम्म अति पौराणिक बासपत्र र हड्डी पत्रदेखि आधुनिक इतिहास, कला, साहित्य, दर्शन पढ्न थाले। चीनका क्रूरतम र अत्याचारी भनिएका बादसाह, प्रधानमन्त्री र जनरल, यहाँसम्म कि युद्धसर्दारहरूका जीवन, उनीहरूका भनाई, पौराणिक सन्त, गुरु, दार्शनिक जस्तै लाओत्से, कन्फुसियस, मेन्सिसस आदिका सिद्धान्तहरू गहिरिएर आत्मसात गरी मनमा उठेका खुल्दुली सबै निवारण सम्पूर्ण चीन र जनताका इतिहासदेखि दर्शन सांगोपांगो बुझ्न सकेकोले नै माओको नेतृत्वमा चिनियाँ क्रान्ति सफलतामा मात्र टुंग्याएन, चीनलाई पुन: एक, शक्तिशाली र एकीकृत बनाउन सके।

हामीले पनि अध्ययन भनेको समग्रता र क्रियाशिल प्रतिकारात्मक रूपमा गर्नै परेको छ। झिनामसिना कुराबाट विचलित हुने होइन भन्दै पुष्पलाल जीले आफ्नो कुरा टुंग्याउनुभो। मलाई याद छ, आनन्द देव भट्टले यति धेरै प्रश्न र प्रतिप्रश्न गर्नुभो र त्यसबाट हामी अझ स्पष्ट भयौं जस्तो लाग्यो। म भने कुनै प्रश्न नै गर्ने हिम्मत राख्न सकिन।

पुष्पला जीले त्यतिबेला उहाँको लेक्चर सारंसमा लेखेर दिनु भनी अह्राउनुभएको थियो, जुन मैले पूरा गर्न सकिनँ। लेख्न किन हो, मलाई ज्यादै गाह्रो लाग्दथ्यो।

प्रयोग: पहिलो

त्यसपछि हामी अमरिकन लाइब्रेरीमा गई अमेरिकाकाेबारे धेरै अध्ययन गर्न थाल्यौँ त्यहीँ टेबलमा बसेर। तर मैले लाइब्रेरीको मेम्बरसिप कहिल्यै लिइनँ। प्रचारबाजीको सानो-सानो पुस्तिकाबाट सुरु गर्यौं। एक जना प्रोफसर फिस्सर, जो सोभियत रूसको कट्टर विरोधी थिए। उसका सबै जसो किताब पढेँ पनि। धेरैपछि त्यो प्रोफेसर त अमेरिकाबाट भागेर सोभियत युनियनमा शरण लिन गएर बाँकी जिन्दगी त्यहीँ बिताएको मान्छे हो। त्यस्तो कम्युनिष्ट विरोधी पनि तत्कालीन अमेरिकाको म्याकआर्थरिज्मको तानाशाही विचहण्टबाट टिक्न सकेन। त्यतिबेला अमेरिकाका धेरै विद्वान, चिन्तक, वैज्ञानिक, दार्शनिक, सामाजिक अभियन्ताहरू त्यही म्याकआर्थरिज्मको बर्बरताले हराएर बिलाएर कति गएगए। हिसाबै छैन, कसैले हिसाब राख्न कष्ट पनि गरेन। मलाई विश्वास छ, त्यस म्याकआर्थरिज्मको महाउद्दन्दताले अमेरिकालाई कति हानी गर्यो भनी कुनैबेला अमेरिकाकै इतिहासले बताइदिने छ।

त्यसबेला त्यस लाइब्रेरीमा बाहिर लान नपाउने अमेरिकाका धेरै चिन्तक, वैज्ञानिक, विद्वान, लेखक, कलाकार र प्रोफेसरहरूको किताब त्यहीँको रिडिंग रूममा मात्र पढने पाइन्थ्यो। त्यहाँ जोन मिलरका किताब, जर्ज ओर्वेलको एनिमल फार्म आदि धेरै किताबहरू पनि पढियो। एनिमल फार्म किताब कम्युनिष्ट खासगरी सोभियत युनियन विरोधी भनी जोडबलले प्रचार भइरहे पनि कथित आधुनिक अमेरिकी समाजलाई तीखो व्यंगका कुराबाट गहिरिएर पढ्नेहरूबाट छुपेन, मबाट पनि छुपेन।

त्यस लाइब्रेरीको हट्टाकठ्ठा (सायद प्रमूख) एक नेवा थियो। उसले एकातिर मलाई तिमी कम्युनिष्ट यहाँ के पढ्छौ भनी स्टन्ट हान्थे भने अर्को गहिरो अध्ययन गर्ने भनी शनिबार र आइतबार पढेर जस्ताकाे त्यस्तै सोमबार फर्काउने शर्तमा मलाई मात्र धेरै किताबहरू पढ्न दिन्थे। त्यस किताबहरूबाट मैले अमेरिकाको झांकी धेरै मात्रामा स्पष्ट हेर्ने मौका पाएँ। त्यस लाइब्रेरी, उहाँ को र कहाँ हुनुहुन्छ, मलाई थाह छैन। म सायद भेटे पनि चिन्दिन होला म उहाँमा हार्दिक आभार र कृतज्ञता ज्ञापन गर्न चाहन्छु, जहाँ भएपनि। कहिलेकहिले अमेरिकामा सम्मेलन आदिमा जाँदा मलाई यस्तो पनि आभाष हुन्थ्यो, ती किताबहरू पढेकोले सायद साधारण अमेरिकनभन्दा अमेरिकाको इतिहास, संस्कृति र विरासतबारे मलाई बढी थाहा भएको भान हुन्थ्यो। 

प्रयोग : दोश्रो

पुष्पलाल जीको त्यस प्रवचन झल्झलती सम्झनु पर्ने दोस्रो घटना यस्तो छ:

जब म एमबीबीएसको फाइनल जाँच अगाडि, सोसियल र प्रेभेण्टिभ मेडिसिनको प्रिफाइनल क्वालिफिकेसन जाँचमा हो। त्यस विभागको प्रोफेसर र एचओडी, प्रा. डा. दक्षिणामूर्ति एक विद्वान र हस्ती व्यक्तित्व हुनुहुन्थ्यो। कोर्सबाट बाहिर गएर भएपनि समस्टिगत रूपमा बिषयहरूको अध्ययन सबैले गर्नुपर्छ भनी मान्यता राख्नुहुन्थ्यो र प्रिक्वालिफिकेसन जाँच टफ हुन्छ र पास गर्नैपर्छ भनी पूर्वउद्घोष गर्नुभएको थियो।

त्यसबेला म होस्टल बाहिर भिषाखापत्नमको बुद्धभरपूर गार्डेनमा बस्थेँ। कलेजको गेट अगाडि होस्टलबाट आउने बस समातेर क्लास जाने गर्थें। त्यसदिन बस छुटेकोले जाँचमा ५/६ मिनेटपछि पुगें। मुख्य प्राक्टिकलको चीट गाह्राे भनी अरूले साटेर राखेको त्यही अन्तिम चीट मेरो हुन गयो। एनोफिलिन लाम्खुट्टेको सेलिभरी ग्ल्याण्ड एक्पोज गरी चित्रान्किट र लेबल गर्नु। म्याग्निफाईङ ग्लास जडित स्टेज वाक्स ट्रेमा लामखुट्टेको सेलिभरी ग्ल्याण्डको ट्वइजरहरूको मदतले एक्पोज गर्न सक्नु चानचुनको कुरा थिएन। जम्मा दुई पोथी एनोफिलिन लामखुट्टेहरू राखिएको थियो सो वाक्स ट्रेमा। कमसेकम एकमा सफल अपरेसन गरी देखाउनु थियो मैले। दुर्भाग्य वा भाग्यबस म दुबैको अपरेसनमा असफल भएँ।

त्यहीबेला त्यहाँको सबले पागल भन्ने एक रक्स्याहा पाले सुटुक्क आएर आठ आना झिक भनी अर्को दुई लामखुट्टे ट्रेमा राखिदियो। त्यसमा पनि म असफल भएँ। भाग्यबस जाँच सुपरभाइजर र मनिटरहरू सब गफमा व्यस्त थियो। मेरो परेशानी देखेन। त्यस पालेले झर्केर अर्को एक अठन्नी लिएर दुई पिनको सहाराले यसो घोचेको जस्तोगरी च्यातेर लामखुट्टेको स्यालीभेरी ग्ल्याण्ड् राम्रोसंग एक्पोज गरिदिनुभो। म राम्ररी हेरी रहेन्थें उसले गरेको अपरेसनको नौलो तर प्रभावकारी प्रविधि। मैले अर्को एक रुपैयाँ दिएर दुई लामखुट्टे मगाएँ। त्यसको नक्कल गरी मैले दुबै लामखुट्टेको सफल अपरेसन गरी माउण्ट गरें। पहिले असफल भएको लामखुट्टे र सो पालेले सफल अपरेसन गरेको लामखुट्टेको शव सिंकमा पखाली पठाएँ र दुबै लामखुट्टेको राम्रो संग प्रदर्शित गरी बाँकी काम पूरा गरेँ।

त्यसपछि स्पटिंग गर्ने र हरेक बारे दुई इपिडेमिओलजिकल नोटहरू लेख्नुपर्थ्यो, जुन मैले सबै ठिक स्पट गरी नोटहरू पनि ठिक लेखी पूरा गरेँ। स्वयम् प्रोफेसर दक्षिणामूर्ती आउनु भएर ओरल क्रस क्वेसनहरू गर्नुभो। त्यसबेला मैले सबैभन्दा बढी नम्बर मात्र पाएको होइन, सबैलाई बोलाई यस्तो राम्रो सबले गर्नुपर्छ र सक्छ भनी दिनुभो। भित्रको वास्तविकता मैले उहाँलाई भन्ने कुरा भएन। तर यस घटनाले मलाई "जस्तोसुकै विषम परिस्थिति र जस्तोसुकै नगन्य र अनपढबाट पनि सिक्न सक्नु नै वास्तविक शिक्षा हो" भनी पुष्पलाल जीले भनेको कुरा झल्झल सम्झेँ। त्यस अनपढ, रक्स्याहा र सबले पागल भनी हेला गरिएको त्यस पाले, जसको नाम पनि मलाई थाहा नै छैन तर मेरो लागि सबैभन्दा ठूलो गुरुहरूमध्ये एक हो भनी सदासर्बदा सम्झन्छु र सम्झिरहने छु।

लिभरपूल स्कूल अफ ट्रपिकल मेडिसिनमा १९७८ मा पोष्ट ग्रेजुयट गर्न जाँदा त्यही लामखुट्टेको अपरेसन रोनाल्ड रोसले डिजाइन गरेको हलुका स्टेनलेस स्टिल ट्वाइजरले गर्दा सफलताको रेट राम्रै थियो। त्यति बेलासम्म पिनको चलन प्रशस्त हुने हुनाले मैले अनपढ पालेबाट सिकेको पिन प्रवधिबाट देखाउँदा सबै इन्टोमोलजिष्ट छक्क परेँ। पछि चीफ इन्टोमोलजिष्टले मलाइ पिन प्रविधि धेरै सजिलो र सफल छ, रोनाल्ड रसको प्रविधिभन्दा भनेको मैले बिर्सेको छैन।

प्रयोग : तेस्रो 

नेपालको मेडिकल इजुकेसनलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउनु हामी आइओएमका सबेको महत्वपूर्ण दायित्व थियो। तर त्यसबेला पञ्चायतको कालरात्री समय। डीन कार्यालयको र त्यसमाथिका भारत परस्त सोच। भारतले दिएको मान्यता मात्र मान्यता हो भनी सोचको प्रभावबाट हामी मर्माहत थियौं। यद्यपि हाम्रा एमबीबीएस पास गरेका विद्यार्थीहरू इण्गल्याण्ड, अमेरिका, अष्ट्रेलिया र युरोपका कैयौं सेण्टरहरूमा मेडिसिन, सर्जरी, पब्लिक हेल्थ र रिसर्च विषयहरूमा अन्तर्राष्ट्रिय स्तरका हाराहारमै मेडिकल शिक्षा चुपचाप हासिल गरिरहेका थिए। त्यसको प्रचारसम्म पनि हामी नगरी बस्नु पर्यो। किनभने ती जेहन्दार विद्यार्थीहरूका वैधानिक अड्चन नेपालका टाठाबाठा नितिनिर्माताहरूबाटै आउन सक्दथ्यो।

त्यहीबेला जोहन्स् हप्किनका केही नेपाल आउन सक्ने मेडिकल विद्यार्थी, आइओएमका इच्छुक विद्यार्थी मिलाएर संयुक्त रुपमा नेपालका कम्युनिटी फिल्ड एक्सपिडेसन, अनुसन्धान, लेक्चर र कम्पेटेन्सि इभ्यालुएसन प्रोग्राम आयोजना गर्यौं। जोहन्स हप्किन युनिभर्सिटीको अमेरिकाकै हस्थी, प्रोफेसर कार्ल टेलर, डा. बब् पार्कर आदि र हामी सिनियरहरू मिलेर सुपरिवेक्षण गर्यौं। हामी नवलपुरको उत्तरी डाँडो काटेर कोटाधाट पुग्यौं।त्यहाँका गाउँहरू र नवलपुर साईडको पहाडका गाउँहरूको विस्तृत अध्ययन र इपिडेमिलजिकल सर्भे विद्यार्थीहरूकै विभिन्न संयुक्त टोलीहरूकै इनिसियटिभमा सुरु गरायौं। हाम्रो काम बेलाबेलामा नेपाल र अन्तर्राष्ट्रिय स्वास्थ्यका मूलभूत समस्याबारे प्रवचन गर्नु, सबै टिमको सुपरिवेक्षण गर्नु र विद्यार्थीहरूका समस्या जिज्ञासा आदि छलफल गरी समाधान गर्नु।

त्यहाँ मेडिकल र पब्लिक हेल्थ फिल्डमा अप्रत्यासित समस्या आयो। नवलपुर साइड पहाडी गाउँ जो धनीमानी जमिन्दारहरूका घरहरू थिए। जसको नवलपुर फाँटमा र तनहुँ, कोटाघाट साइडको सबैभन्दा उब्जाउ र राम्रो जमिन त्यही गाउँका बासिन्दाहरूको थियो। सर्भेमा के पाइयो भने लुताेको प्रकोप धनीमानी पढ्ने गाउँका विद्यार्थीहरूमा ९५ प्रतिशत संक्रमित थिए भने कोटाघाटमा विपन्न बोटे समुदायका विद्यार्थीहरूमा लुताेको संक्रमण ५ प्रतिशतभन्दा कम पाइयो। सबैले लुताे त विपन्न, सरसफाईमा कमी भएको बालबालिकाहरूमा हुने भनी चिनेको हो।

यस्तो उल्टो परिणाम कसरी आयो भनी छलफल खुब चलायौं। दोहाेर्याएर पुन सर्वेक्षण गर्ने निर्णय गर्यौं। जोन्स हप्किनको प्रोफेसर र म स्वयमको सिधा सुपरिवेक्षणमा पनि त्यही डाटा आयो। किनभने हामी विद्यार्थी र शिक्षकहरूको घनीभूत छलफल चलायौं। निष्कर्ष निकाल्ने हामी कसैको क्षमता भएन। आखिर माथि र तल गाउँहरूका गन्यमान्य जनसहभागितामा अर्को दिन छलफल गरी जवाफको आशा गर्न सक्ने निष्कर्ष निकाल्यौं।

भोलिपल्ट कोटा साइडको कालीगण्डकीको किनारको बलौटे चहुरमा थुप्रै मानिसहरू भेला भए र गहन छलफल चलायौं। जवाफ त त्यहाँबाट पनि आउला जस्तो देखिएको थिएन। तर एक ४५/४६ वर्षकी अधबैंसे बोटे महिला, जो पहिले नै अलि रक्सी खाइसकेकी थिइन् "म भन्छु किन भनी" बोल्न अनुमति मागिन्। अरू गन्यमान्य व्यक्तिहरूले "चुप लाग बहुलायी" भनी बोल्न नदिने प्रयाश गरे। तर हामीले बोल्न हौसला दियौं। विश्वकै स्तरीय वैज्ञानिक प्रोफेसरहरुले पेश गर्न सक्ने वस्तुस्थिति र दलील पेश गरिन्, जसले हामी सबै विद्वान भनाउँदाहरूका आँखा उघारी दियो।

उहाँले जस्तो खरो र स्पष्ट बोलेको यहाँ उतार्न सक्ने ममा क्षमता छैन तर पनि उहाँले आफ्नो भनाई यसरी राख्नुभो, "त्यो जिम्वाल र धनीमानहरूको गाउँमा के छ? ठूलो ठूलो झकिझकाउ घरहरू मात्र भएर हुन्छ? त्यस गाउँभर जम्मा पाँच कुवाधारा छन्। त्यहाँका बाहुनबाजे र केटाकेटी दिनदिनै नुहाउँछन्, कागले नुहाएको जस्तो। बस्, यहाँ त हाम्रा केटाकेटीहरू प्रकृति, गरिबी सबसंग जुध्न बाध्य छ। हाम्रा केटाकेटीहरू स्कुल जाँदा घरको गाईभैंसी चौपायाहरू संगसंगै लगेर काली पार नवलपुर र त्यस गाउँको जंगलमा छाडेर मात्र स्कुल जान पाउँछन्।

पुलबाट वस्तुभाउ तार्न नदिने हुनाले ती वस्तुभाउ संगसंगै कालीमा हेलिए। वस्तुभाउ पारी जंगलमा छाडी पौडी खेली वारी छाडेको किताब र लुगा च्यापेर स्कुल जान्छन्। स्कुलपछि पनि पारी जंगल गई पौडी खेलेर गाईवस्तु ,घरगोठ ढुकाई मात्र आराम गर्न पाउँछन्। ल भन्नुहोस् कागले नुहाएका बाहिर सुकिलामुकिला भित्र फोहरी केटाकेटीहरूमा लुताे नभए कसमा हुन्छ? हाम्रा केटाकेटी दिनमा कमसेकम ३ पटक कालीगण्डकीमा हेलिएर पौडी खेलेर वारपार गर्नैपर्नेहरूमा लुताे कसरी लाग्छ?"

त्यस अनपढ अधबैंसे महिलाले मेरो मात्र होइन जोहन्स हप्किनका प्रोफेसर, विद्यार्थी र हाम्रै अन्य शिक्षक र विद्यार्थीहरूका ‘इको हेल्थ’ वा हेल्थ इकोलजी भर्खरै चर्चामा आउन थालेको विषयमा बिहंगम दृष्टिकोण राख्ने अपूर्व मौका पयौं। "अनपढ" महिला त्यसबेला हामी सबैको गुरुमा पनि महागुरु हुन सक्नुभो। पुष्पलाल जीले भने बमोजिम जनमानसभित्रको ज्ञान भण्डार अथाह र अपूर्व हुनसक्छ, यदि हामीले  त्यसको लागि लायक बनाउन सके र सोधखोज गर्न सके।

यस्ता थुप्रै अनुभूति छन्, त्यही पुष्पलाल जीको प्रेरणाले पाएको जीवनका अनुभूतिहरू। तर अहिले यति।

प्रकाशित मिति: : 2022-01-27 17:50:00

प्रतिकृया दिनुहोस्