मैत्रीपूर्ण खेललाई हलुका लिनु हुँदैन : कप्तान किरण

फाइल तस्वीर
फाइल तस्वीर

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण कुमार लिम्बू चेम्जोङले मैत्रीपूर्ण खेललाई हलुका ढंगले लिन नहुने बताएका छन्। 

खेलको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा बोल्दै ३२ वर्षीय कप्तान किरणले मैत्रीपूर्ण खेललाई हलुका ढंगले लिन नहुने र यसबाट धेरै सिक्नुपर्ने प्रतिक्रिया दिए। ‘मैत्रीपूर्ण खेललाई हलुका ढंगले लिनु हुँदैन। नतिजा पनि चाहिन्छ। यसबाट हामीले सिक्नु पर्नेछ। हामी तयारी छौं,’ नेपालका सर्वाधिक क्याप जित्ने खेलाडी समेत रहेका किरणले भने। नेपालले भोलि शनिबार दशरथ रंगशालामा पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। दोस्रो खेल मंगलबार हुनेछ। दुवै खेल झास पौने ५ बजे सुरुहुनेछ। यसअघि नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले दुई खेलका लागि फरक टोली घोषणा गर्दै ३४ खेलाडीनै अवसर दिएका छन्। उनले दुवै टोलीमा १२ खेलाडीलाई मात्रै मौका दिएका छन्। 

कप्तान किरण भने दुई दिन अघिमात्रै मालदिभ्सबाट टोलीमा जोडिएका थिए। मालदिभ्स क्लब माजिया एससीमा आबद्ध किरणले  दुई दिनको प्रशिक्षण हेर्दा खेलाडी फिट रहेको र लिग खेलिरहेका कारण पनि खेलाडी शारीरिक र मानसिक रूपमा फिट भएको प्रतिक्रिया दिए। ‘दुई दिनको प्रशिक्षण हेर्दा सबै खेलाडी फिट देखेको छु। सबैले लिग खेलिरहेका छन्। त्यसैले सबै शारीरिक र मानसिक रूपमा फिट छन्,’ किरणले भने। यस्तै कप्तान किरणले मौरिसस पहिलो अफ्रिकन प्रतिद्वन्द्वी भएको र जितका लागि खेल्ने बताए। ‘इतिहासमै पहिलो पटक अफ्रिकी टिमसँग खेल्न लागेको छौं। फरक अनुभव हुनेछ। हाम्रो टिम तयार छ। हामी जित्नकै लागि खेल्छौं,’ उनले भने। यता, प्रशिक्षक अब्दुल्लाह भने खेल अघिको पत्रकार सम्मेलनमा उपस्थित भएनन्। उनको स्थान सहायक प्रशिक्षक किरण श्रेष्ठले लिएका थिए। 

उनले मौसिससँग टोली तयारी रहेको र पुराना गल्ती सुधार गर्दै जितका लागि खेल्ने बताए।

प्रकाशित मिति: : 2022-01-28 17:59:00

प्रतिकृया दिनुहोस्