दाङमा लखन थापा स्मृति कप फुटबल प्रतियोगिता हुने भएको छ। नेपाल मगर संघ दाङ, घोराही उपमहानगरपालिका नगर स्तरीय समितिको आयोजनामा 'प्रथम सहित लखन थापा स्मृति कप खुल्ला फुटवल प्रतियोगिता २०७८' हुन लागेको हो।
समतिले आइतबार घोराहीमा पत्रकार सम्मेलन गर्दै फागुन २ गतेदेखि १५ गतेसम्म फुटबल प्रतियोगिता हुने जानकारी दिएको छ। नगर अध्यक्ष देवबहादुर बुढा मगरले प्रतियोगितामा जिल्ला प्रशासन वा दाङ जिल्ला फुटबल संघमा आवद्ध क्लबले मात्रै सहभागिता जनाउन पाउने बताए।
उनका अनुसार खेलाडी भने देशका जुनसुकै ठाउँबाट भएपनि सर्तमा रही खेलाउन सकिने छ। प्रतियोगितामा सहभागि हुनका लागि माघ २९ गते बेलुकी ५ बजेसम्म क्लव दर्ताको समय निर्धारण गरिएको र टिम दर्ता शुल्क ७ हजार निर्धारण गरिएबो अध्यक्ष बुढा मगरले बताए।
नकआउट चरणमा खेलाईने प्रतियोगिताको टाईसिट फागुन १ गते प्रकाशित गर्ने र फागुन २ गतेबाट प्रथम सहिद लखन थापाको १४५औँ स्मृति दिवसको सन्दर्भ पारेर खेलको उदघाटन गरिने छ।
प्रतियोगिताको विजेता क्लबले नगद १ लाख, प्रमाण पत्र र मेडल पाउने छ भने उपविजेता क्लवले नगद ५० हजारसहित मेडल र प्रमाण पत्र पाउने छ। यस्तै, यस वर्षबाट प्रतियोगिताको अन्तिम चारमा पुगेका दुई क्लबलाई पनि सान्त्वना स्वरुप नगद साढे १२ हजारका दरले प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।
स्वर्गीय गणेश प्रसाद रोकामगरले स्थापना गरेको अक्षयकोषबाट विजेतालाई प्रथम पुरस्कार र पूर्वअध्यक्ष जंगबहादुर पुनले स्थापना गरेको अक्षयकोषबाट उपविजेतालाई पुरस्कृत गरिने गरिएको छ।
जिल्लामा २०५७ सालदेखि संचालन हुँदै आएको प्रतियोगिता सशस्त्र द्वन्द्वका समयमा केही वर्ष स्थगित भएको थियो। गत वर्ष तुलसीपुर नगर कमिटीले संचालन गरेको प्रतियोगितामा घोराहीको युएनबीसी क्लव विजयी भएको थियो।